अमेरिकाबाट फर्केर नेपालमा सौन्दर्य यात्रा

काठमाडौं । अमेरिकाको डालासस्थित एक ब्युटिपार्लरमा पाँच वर्ष काम गरेकी ब्युटिसियन छबु कार्की बस्नेत नेपाल फर्केर यही क्षेत्रमा रमाइरहेकी छन् । ब्युटिसियन छबुको ब्यस्तता पछिल्लो समय बढ्दै गएको छ ।
अचेल उनी चलचित्र र म्युजिक भिडियोका लागि मेकअप आर्टिष्टका रूपमा व्यस्त हुन थालेकी छिन् । यो पेशामा उनी आफ्नो रुची, क्षमता र इच्छाले आएको बताउँछिन् । एक दशकदेखि ब्युटिसियनका रुपमा सक्रिय उनी भोजपुरको मर्याङडाँडा प्याउलीकी चेली हुन् ।

‘सानैदेखि केही गरौँ, रचनात्मक कार्यमा लागि रहौँ भन्ने स्वभाव थियो,’ छबुले भनिन्, ‘त्यही क्रियसन र रुची आज पेशा भएको छ ।’ पछिल्लो समय ब्युटिसियन छबुले आफ्नो क्षेत्रबाट पहिचान मात्र होइन सम्मान र पुरस्कार पनि हात पारेको बताइन् । भनिन्, ‘ब्युटिसियन पेसा अँगालेर राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मान पनि पाइसकेकी छु ।’

ब्युटिसियन छबु विभिन्न संघसंस्थाले आयोजना गर्ने सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिकामा पनि देखिन्छिन् । उनी सौन्दर्य पेशा मात्र होइन यसको प्रशिक्षण पनि दिँदै आएको बताउँछिन् ।

हरेक मानिस सौन्दर्यप्रति सचेत हुनुपर्ने उनको राय छ । भन्छिन्, ‘बजारमा सौन्दर्य प्रसाधनको कुनै कमी छैन । तर, बजारमा पाइने सबै सौन्दर्य प्रसाधन गुणात्मक छैनन् । जसको प्रयोगले अनुहार वा शरिरलाई नकारात्मक असर गर्न सक्छ ।’