काँग्रेस सभापति देउवाले भनेः कालापानी र लिम्पियाधुरा नेपालकै हो, यसमा विवाद जरुरी छैन

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुन बिहीबार धनगढी पुगेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कालापानी र लिम्पियाधुरा नेपालकै अविभाज्य भूभाव भएको बताएका छन् । उनले यसमा कुनै विवाद गरिराख्नु पर्ने अवस्था नभएको पनि स्पस्ट पारे ।

धनगढी विमानस्थलमा प्रेस युनियन कैलालीद्धारा आयोजित पत्रकार सम्मेलनमा सभापती देउवाले भारतले आफ्नो नक्साभित्र समावेश गरेको लिपुलेक, कालापानि, लिम्पियाधुरा लगाएतका नेपाली भुमी नेपालकै अभिभाज्य भूभाग भएको बताए ।

देउवाले सीमा अतिक्रमको बिषयमा दुई तिहाइको सरकारले कुटनितीक पहल अगाडि बढाउनुपर्ने सुझाव दिए । उनले महाकाली सन्धीमा महाकालीको पानी दुवै देशको साझा हुने गरी सहमति भएको र लिपुलेक तिनै देशको व्यापारीकेन्द्रको रुपमा सहमति भएको बताए ।

चीन, भारत र नेपालको त्रिदेशीय सीमानामा रहेको लिपुलेक तीन देशको व्यापारिक नाका भएको बताउँदै उनले भने, ‘तर कालापानी र लिम्पियाधुरा हाम्रै भूमि हो यसमा विवाद जरुरी छैन।’

भारतीय पक्षले हालै नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसबारे चर्को विरोध हुँदै आएको छ । उक्त विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले यसबारे भारतीय पक्षले विवाद गर्न जरुरी नरहेको स्पस्ट पारे । ‘सीमा विवाद तत्काल कुटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई सुझाव दिन्छु’, उनले भने ।

‘आगामी मंसीर १४ मा हुने उप निवार्चनमा नेपाली कांग्रेसले एकजुट भएर सबै लाग्नुपर्ने उनले बताए । सभापति देउवाले भने, ‘दुई तिहाईको दम्भलाई तोड्नुपर्छ ।’