दुई तिहाई सरकार लाचार भयोः देउवा

सरकार टिकाउन ओली बोल्न सकेनन्ः साउद

महेन्द्रनगर । भा।तले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको भूमि मिचिएको प्रति दुईतिहाईको सरकारले ठोस प्रतिक्रिया र प्रक्रिया नअपनाएर लाचारीपन देखाएको काँग्रेस सभापति शेरबहादुर नेउवाको भनाइ छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताउँदै कांग्रेसका सभापती तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नयाँ नक्सामा देखाए पनि त्यो भूमि नेपालको हो । यसमा कुनै विवाद छैन ।’

नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको प्रथम प्रतिनिधि सभालाई शुक्रबार सम्वोधन गर्दै उनले सरकारले बार्ताद्वारा सीमा विवाद समाधान गर्नुपर्ने धारणा राखे । देउवाले लिपुलेकको उत्तरमा चीन र दक्षिणमा भारत पर्ने बताउँदै दुबै देशसँग बार्ता गरेर सीमा विवादको समस्या सामाधान गर्नुपर्ने बताए ।

‘लिपुलेक, कालापानी नेपालको हो यसमा दुई मत छैन्,’ उनले भने, ‘सरकारले दुबै देशसँग छिटो भन्दा छिटो बार्ता गर्नुपर्छ ।’ सीमा विवाद समाधान गर्नका लागि कांग्रेसले पहल गरिरहेको उनले बताए । ‘महाकाली सन्धी म प्रधानमन्त्री भएको समयमा भएको थियो,’ उनले भने, ‘त्यो सन्धी अनुसार महाकाली नदी सीमा नदी हो, सन्धीमा नदीको पानी आधा नेपालको र आधा भारतको हुने उल्लेख छ । त्यो सन्धी भारतले कार्यान्यन गर्नुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले प्रजातान्त्रिक अधिकार खोसीरहेको सभापती देउवाले बताए । ‘ओली सरकारले बोल्न पाउने, लेख्न पाउने आधिकार समेत खोसी रहेको छ,’ उनले भने ,‘जनताका आधारभुत अधिकारलाई समेत विभिन्न विधेयक ल्याएर ओली सरकारले खोस्दै छ ।’

नेकपाको सरकारले प्रहरी, सेना, कर्मचारी र अदालतमाथि समेत हस्तक्षेप गर्न खोजी रहेको उनले बताए । ‘यसको बिरोध हामीले निरन्तर आवाज उठाउँदै आएका छौं,’उनले भने ।

कार्यक्रममा काँग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री एन पी साउँले सरकारमा टिकिरहनका लागि प्रधानमन्त्री केपीशर्मा ओलीले लिपुलेक र कालापानीबारे बोल्न नसकेको बताए । ‘आफूलाई शक्तिशाली भनेपनि राष्ट्रियताका पक्षमा अहिलेको सरकारले आवाज उठाउन सकेको छैन,’ साउदले भने, ‘लिपुलेक, कालापानी नेपालको भूमि हो ।’
नेकपाको सरकारले आफ्नो भूमिलाई समेत हाम्रो हो भन्न नसकिरहेको उनले बताए । देशमा हत्या हिंसाको घटना बढी रहेपनि अहिलेको सरकारले सुरक्षा व्यवस्था मजबुत बनाउन नसकेको साउदले बताए । ‘अहिले देशमा शान्ती सुरक्षा फितलो छ,’ उनले भने,‘ ‘सरकारले निर्मलाको हत्यारा अझै पत्ता लगाउन सकेको छैन् ।’ शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि सबै पक्ष उत्तरदायी हुनुपर्ने उनको भनाई छ ।
कांग्रेस सरकारमा हुँदा शिक्षामैत्री कार्यक्रम ल्याएर अगाडि बढेको उनले बताए । उनले शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरेको जानकारी दिए । राज्यले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको छ, तर त्यो अनुसारको प्रतिफल देखिएको छैन्’, उनले भने, ‘शिक्षकहरुले राज्यको लगानी अनुसारको प्रतिफल दिनका लागि महत्वपूर्ण भुमिका खेल्नुपर्छ ।’