कांग्रेसले सरकारका राम्रा काम नै नदेखेपछि लगायो २१ खोट

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार २१ महिनामा पुगेको छ । ओली सरकारका २१ महिना उतारचढाव पूर्ण नै रहे ।

यो २१ महिनाको अवधिमा निर्मला प्रकरण, मूल्य बृद्धि, गुठी विधेयकको विरोध, बालुवाटारसहित बिभिन्‍न सार्वजनिक स्थलको जग्गा अतिक्रमण, चिकित्सा शिक्षा सुधारका लागि डा गोविन्द केसीको अनसन, मेडिकल कलेजले बढी शुल्क लिएको विरोधमा विद्यार्थीको आन्दोलनलगायत थुप्रै परकरणले सडक तातिरह्यो ।

यतिवेला पनि भारतले केही दिन पहिले सार्वजनीक गरेको आफ्नो नक्सामा नेपालको भूमी समेटेको भन्दै देशमा आन्दोलन जारी छ । यही अवधिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि उतारचढाव आइरह्यो । नेकपाको एकता प्रक्रियाले पनि निकै गति लियो ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार ओली सरकारको कार्यकाल २१ पुगेको अवसरमा समिक्षा गर्यो । कांग्रेसले गरेको समिक्षामा सरकारले गरेका एउटै राम्रा काम समेटिएका छैनन् । उसले २१ महिनाको समिक्षा गर्दै २१ खोट देखाएको छ ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले ओली सरकारका २१ खोटको बारेमा औंल्याएका हुन् ।

यस्ता छन् कांग्रेसले औल्याएका ओली सरकारका २१ खोट

– राष्ट्रियताको प्रश्नमा असफलता

– संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता

– सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमै असफलता

– संघीयताको बाँकी कार्यभार पूरा गर्नमा असफलता

– कूटनीतिक मामिलामा अपरिपक्वता

– विप्लव प्रकरण: असफलताको फरक पाठ

– शान्ति सुरक्षा: निर्मला प्रकरणमा हरायो सरकार

– मूल्य वृद्धि: धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी

– वाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ

– मेलम्ची परियोजनामाथि खेलबाड

– निजगढ एयरपोर्टको भविष्य अन्यौल

– चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न

– बूढीगण्डकी: कम्युनिस्ट सरकारको राष्ट्रघात

– सरकारको नियतले असफल संवैधानिक परिषद्

– शब्दमा प्रेस स्वतन्त्रता, व्यवहारमा नियन्त्रण

– धर्मको प्रश्नमा होली वाइन प्रकरण

– गुठी विधेयक: जनशक्तिले झुकाएको सत्ता

– सामाजिक सुरक्षा कोष: कर्म कसैको, प्रचार कसैको

– बालुवाटार काण्डमा लिलाम नैतिकता (ललिता निवासको जग्गा)

– कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो

– असहिष्णु अभिव्यक्ति: अराजनैतिक चरित्र

के सरकारले राम्रा काम नै गरेन त ?

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका कमजोरी औंल्याउँदै गर्दा कुनै एउटा राम्रो कामको पनि स्मरण गरेको छैन । के सरकारले प्रतिपक्षले सम्झने गरी कुनै राम्रा काम नै गरेको छैन त ? कि प्रतिपक्षले सरकारका नराम्रा काम औंल्याउनु पर्छ भन्ने मान्यतालाई कांग्रेसले निरन्तरता दिएको हो ।

नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा भएको समेत कांग्रेसले आरोप लगायो । कांग्रेस रहेसम्म अधिनायकवादी सपना पूरा हुन नदिने दृढता पनि कांग्रेसले व्यक्त गर्‍यो । कांग्रेस भएसम्म लोकतन्‍त्र खतरामा पर्न नदिने प्रवक्ता शर्माले बताए ।

उपनिर्वाचनलाई प्रभाव पार्ने दाउ

कांग्रेसले उपनिर्वाचनको मुखैमा सरकारका २१ कमजोरी औंल्याएर आफ्नो पक्षमा जनमत संकलन गर्न खोजेको देखिन्छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारलाई सच्चिन दबाब दिनका लागि उपनिर्वाचनमार्फत् मतदातालाई अवसर मिलेकाले कांग्रेसलाई भोट दिन समेत आग्रह गरेका थिए । यसले कांग्रेसको उपनिर्वाचन लक्षित पत्रकार सम्मेलन भएको बुझिन्छ ।

उपनिर्वाचन मतदाताका लागि अवसर हो भन्दै उनले २०७४ सालमा दिएको मत र त्यसले परिकल्पना गरेको सरकार अहिलेकै जस्तो हो त ? भन्ने प्रश्‍नसमेत कांग्रेसले उठाएको थियो ।