सडकका असहाय सन्तान स्यार्दैः कल्पना

तीजको दिन । गाउँ, सहर जताततै रातो रमाइलो थियो । गक्षअनुसार छोरीचेलीहरु सारी, चोलो गरगहनामा सजिएका देखिन्थे । पूजा, ब्रत, नाचगान र रमाइलोको माहोल जुट्दैथियो । खुसी र सन्तुष्ट हुने तरिका मान्छेको आ–आफ्नै सोच र स्वभावमा भर पर्छ ।

कल्पना भट्टलाई भने अरु चाडबाडजस्तै तीजले पनि छोएन । न रंगिन मन लाग्यो, न सिंगारिन । न उनको मन तीजमा नाच्नका लागि उद्देलित थियो, न कतैबाट उत्प्रेरित । उनलाई असल श्रीमान पाऊँ भन्ने ‘दुवा’ माग्नुभन्दा असहाय मानसिक रोगीका लागि आफै ‘भगवान’ बन्ने हतारो थियो । बिहानै उठिन, फाटो–मैलो जे पाइन, त्यही आङमा झुण्ड्याइन् र धनगढीबाट हिँडिन् गोदावरीका लागि ।

गोदावरी नगरपालिका ११ स्थित एक क्षेत्री परिवारको घरमा पुग्नु थियो । त्यहाँ देखेको दृष्यले उनको मन काँपेको थियो । तीन वर्षदेखि बाख्राको खोरमा साङलोले बाँधेर राखिएकी २४ वर्षीया महिलालाई उनले बन्धनबाट खोलिन् । अंगालो मारिन र गन्तव्यतिर डोर्याइन् ।

मानसिक रोगले गाँजेकी तीं महिलाकी सासूले कल्पनालाई तथानाम गाली दिइन् । भन्नुनभन्नु केही बाँकी राखिनन् । खोस्नसम्म आइन् तर सकिनन् । ‘अंगालो मारेर प्रहरी प्रशासनको गाडीमा रुँदै रुँदै अत्तरिया पुर्याएँ’, कल्पनाले तीं मानसिक रोगी महिलालाई उद्धार गर्दाको क्षण सम्झिइन्, ‘तीनवर्षदेखिको गु, मुत सरिरमै थियो, सुकेर पाप्रा परेको, गन्हाएर बसिनसक्नु भयो । अत्तरिया पुगेपछि सेन्ट किनेर उनको शरिरभरि छर्किएँ, अनि धनगढी ल्याइपुर्याएँ ।’

दृष्टी फाउन्डेनस नेपालको आश्रममा पुर्याएपछि कल्पनाले उनलाई नुहाइधुवाई गरिन् । नयाँ लुगा लगाईदिन्, अनि नाम राखिन्– प्रेरणा ।
को थिइन् त प्रेरणा ? उनले भनिन्, ‘प्रेरणा सामान्य बाहुन परिवारकी छोरी, उनले गोदावरीको एक क्षेत्री परिवारमा विवाह गरिन्, उनीबाट छोरी जन्मिइन्, त्यसपछि उनको दिनदशा सुरु भयो ।’ प्रेरणाका श्रीमानले उनलाई हेला गर्न थाले, सासूले गालीगलौँच गर्न थालिन् । काखकी छोरी पनि खोसेर आमा छोरीकै बिछोड गराए । श्रीमानले अर्को विवाह गरे । परिणाम प्रेरणा मानसिक विचलनमा परिन् । त्यसपछि उनलाई बाख्राको खोरमा साङ्लोले बाँधेर राखियो ।

यो सबै कथा थाहा पाएपछि दृष्टी फाउन्डेसनकी सञ्चालक कल्पनालाई उद्धार गर्न मन थियो । उनले उचित मौका खोजेकी थिइन् । प्रेरणाका श्रीमान तीजमा अर्की श्रीमतीसँग माइती गएको मौकामा उनले प्रेरणाको उद्धार गरिन्, दृष्टी फाउण्डेसनको आश्रममा लिएर आइन् ।
‘प्रेरणाकी छोरी यतिबेला करिब पाँच वर्ष पुग्दैछिन्’, प्रेरणाले सम्झिइन्, ‘तर उनले प्रेरणालाई आमा भन्दिनन्, आमा भनिस् भने खान दिन्नौ भनेर परिवारका मान्छेले डर देखाएपछि उनी आमा भन्दिनन् ।’ गाउँलेले पनि प्रेरणाप्रति कुनै सदभाव देखायो भने उनको परिवारले गाउँलेलाई सुननसक्नु गाली गथ्र्यो । दृष्टी फाउण्डेसनमा ल्याइएपछि प्रेरणाको झल्याक झुलुक चेत खुलेजस्तो भएको छ, जसले फाउण्डेसकी सञ्चालक कल्पना खुशीले पुलकित हुन्छिन् । पाउण्डेसनको आश्रयमा रहेका धेरैले कल्पनालाई आमा भन्छन् । उनी आमाजस्तै ममता दर्शाउँछिन् ।

अवसर त्यागेर ‘आमा’
खुसी हुनैका लागि त कल्पनासँग धेरै उपाए थिए । तमाम बाटा थिए । अनेक अवसर थिए । हालको धनगढी उपमहानगरपालिका ११ कैलाली गाउँमा जन्मिएकी कल्पनाले राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर पास गरेकी छिन्, त्यो पनि राम्रै अंक ल्याएर । अहिले पनि उनी राजनीति शास्त्रमा एमफिल गर्दैछिन् । त्रिभुवन युनिभर्सिटीमा पढ्दा पढ्दै १०, १२ वर्ष अघि नै एनजीओ, आइएनजीओमा मासिक ५०÷६० हजारको जागिर गरेकी उनले त्यो यात्रा आठ, दश वर्ष गरिन् ।

‘त्यसपछि म मातृका देवकोटाको कोसिस भन्ने सामाजिक संस्थामा आवद्ध भएँ’, कल्पनाले भनिन्, ‘तीन वर्ष त्यहाँ काम गर्दा गर्दै मैले यस्तै काम म मेरो क्षेत्रमा गर्छु भनेर प्रण गरेँ ।’ त्यसपछि उनले ‘आफ्ना लागि सोच्ने, आफू बन्ने’ बाटै मोडिन् । समाजका लागि केही गर्ने, समाजकी चेली बन्ने बाटो पक्रिन् । र असहाय मानसिक रोगीकी आमा बनिन् ।

सहारा दिने साहस
कल्पना त मान्छेका अनेक हुन्छन्, तर त्यसको उडान भर्न आँट चाहिन्छ । योजना चाहिन्छ । साहस र समर्पण चाहिन्छ । कल्पनाले त्यही गरिन् । सानैमा बुवा गुमाएकी कल्पनाले यतिबेला आमाको पनि साथ गुमाएकी छिन् । ‘बढेकी जवान छोरी, राम्रो घर खोजोस्, घरबार गरोस् भन्ने आमाको चाहना हो’, उनले भनिन्, ‘मैले फरक बाटो समातेँ, समाजकी चेली बन्ने यात्रा थालेँ, आमा खुसी हुनुभएन्, अहिले घरपरिवारसँग मेरो त्यति धेरै आत्मीयता छैन ।’

फरक बाटोका लागि उनले करिब दुई वर्ष सुदूरपश्चिमका नौ जिल्लामा अध्ययन गरिन् । त्यसक्रममा उनले ४५ जना असहाय मानसिक रोगी फेला पारिन् । उनीहरु रोगी मात्रै थिएनन्, उनीहरुमाथिको दुव्र्यवहार, हिंसा र सोसण झन डरलाग्दो उनले पाइन् । ‘उनीहरुमाथि यति धेरै यौन शोषण हुने गरेको पाएँ, बनबेहडामा फेला परेकी एउटी मानसिक रोगी आमाले नौपटकसम्म बच्चा जन्माएको पाइयो’, उनले भनिन्, ‘तीं बच्चा कोही कुकुरले खाए, कोही कता परे ! उनैलाई याद छैन । निकै मन पोल्यो, तीं सबैलाई सहारा दिने सामर्थे मसँग थिएन । जतिलाई सक्छु, त्यतिलाई दिन्छु भनेर दुई वर्ष अघि मैले दृष्टी फाउण्डेसनको स्थापना गरेँ ।’

फाउण्डेसनको आश्रयमा आएका मानसिक रोगी महिलामाथि अनाहकको आक्रमणबाट सुरक्षा मात्र मिलेन, बाटैमा बलात्कृत भएर बाटैमा जन्माएको बच्चालाई कुकुरले खाइदिने अवस्था पनि फेरियो । ‘आजको दिनमा दृष्टि फाउन्डेसनको आश्रयमा सात महिना र डेड वर्षको गरि दुई बालकसहित २७ जना आमा छन्’, उनले भनिन्, ‘२० जना आमाहरुलाई हामीले परिवारसँग पुनरमिलन गरायौँ, दुई जना आमालाई कञ्चनपुरको बेदकोट वृृद्धाश्रममा बस्ने व्यवस्था मिलाएका छौँ ।’ दुईजना आमाको परिवारको पत्तो नलागेपछि दृष्टिमा उनीहरुलाई झिजो लाग्ने देखेर बेदकोट वृद्धाश्रममा बसोबासको व्यवस्था गरिएको उनले बताइन् ।

सन्तुष्टिले तनाव फिक्का
एउटा सद्य परिवार मिलाएर राख्न त कति तनाव हुन्छ । आफैले जन्माएका दुई, चार सन्तानले कोकोहोलो गर्दा पनि कतिपय आमाबुवा हैरानीमा पर्छन् । कल्पना भने जन्माउँदै नजन्माएका, बालकदेखि युवा र बुढो उमेरका ‘सन्तान’ स्याहार्छिन् । त्यो पनि मानसिक र शारीरिक अवस्था ठिक नभएका । उनलाई झिजो, दिक्दारी र तनाव हुँदैन होला ? ‘हुँदो होला, यो त मैले आत्माले चाहेर गरेको सेवा हो’, उनले सम्झिइन्, ‘तनावभन्दा अप्ठेराहरु आइपर्छन्, कतिपयले टोकेर मुखको आकार बराबरको गासै लुछिदिन्छन् ।’ उनले पाखुराको दाग देखाइन् ।

असहाय मानसिक रोगीका लागि आश्रम सञ्चालनमा अर्को समस्या भने उनले झेल्ने गरेकी छिन् । २१ दिनसम्म सेती अञ्चल अस्पतालमा बेसहारा बसिरहेकी एक मानसिक रोगी वृद्धलाई उनले प्रहरी प्रशासन र नगरपालिकाको रोहबरमा ०७५ भदौ २१ गते उद्धार गरिन् । रोगी आमाको मंसिर ७ मा मृत्यु भयो । स्थानीय केहीले उनको बिरोध गरे । अनेक अनुमान लगाए । औषधिको डोज बढी भयो भने ।

त्यसबेला प्रहरी प्रशासन र उपमहानगरपालिकाले सहयोग गरे । ‘आश्रममा सबै गएर तीं आमाको दाहसंस्कार गर्यौँ’, उनले सम्झिइन्, ‘पछि स्थानीय मिडियाले महिलाद्वारा असहाय महिलाको दाहसंकार भनेर लेखे ।’ त्यसयता उनले स्थानीय प्रशासन र स्थानीय निकायको सहयोगमा असहायहरुको उद्धार गर्ने गरेकी छिन् । उनीहरुको रोहबरमा आश्रममा ल्याउने गरेकी छिन् । ‘निको भएपछि परिवारलाई फाउण्डेसनमै बोलाएर पुनरमिलन गराउँछौँ’, उनले भनिन्, ‘आहा ! त्यो क्षण जति अनुपम कुनै हुँदैन । सारा दुःख, दर्द त्यही क्षणले निलिदिन्छ ।’

मनकारीको मुठीदान
अभाव, महंगी र स्वार्थी बन्दै गएको दुनियामा कसरी चल्छ त फाउण्डेसन ? ‘अझै पनि मनकारीहरु छन्’, उनले भनिन्, ‘कतैबाट फण्ड लिएकी छैन, एनजीओ बनाउने रहर र योजना पनि छैन, केही मनकारीहरुले मुठीदान दिन्छन्, कोही जन्मदिन मनाउन आउँछन्, कोही कसैको सम्झनामा केही दिन आउँछन्, उनीहरुबाटै यो चलेको छ ।’

उनलाई यतिबेला प्रहरी प्रशासन र स्थानीय निकायले उद्धारका लागि सवारी र सुरक्षाको व्यवस्था गरिदिने गरेको छ । धनगढी उपमहानगरपालिका ८ स्थित सदभावना टोलामा रहेको फाउण्डेशनको आश्रमको भाडा धनगढी उपमहानगरपालिकाले नै तिरिदिने गरेको छ । ‘उमहहानगरका मेयर नृपबहादुर ओड आएर हेर्नुभयो, निकै प्रभावित हुनुभयो’, कल्पनाले भनिन्, ‘त्यसपछि यसको भाडा उममहानगरले नै बेहोर्ने जिम्मा लिनुभएको छ, कति तिर्नुहुन्छ कहिले तिर्नुहुन्छ ? त्यो मैले पनि सोधेकी छैन ।’

समाजसेवा रत्नसम्म
उनको सामाजिक सेवा सुदूरपश्चिम क्षेत्रमा मात्रै प्रसंसनीय छैन । सिंगो समाज र देशले उनको सेवाको कदर गरेको छ । गणतन्त्र दिवसको अवसरमा उनलाई रमाज सेवा रत्न सम्मान प्रदान गर्ने निणय राज्यले गरेको छ । उनी सुदूरपश्चि र मुलुकभरमै कान्छो समाजसेवीका रुपमा समाजसेवा रत्नबाट सम्मानित महिला बनेकी छन् ।

युवामञ्चबाट