काँग्रेसको विकल्प काँग्रेस नै होः साउद

बैतडी । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री एनपी साउदले काँग्रेसको विकल्प काँग्रेस नै भएको बताएका छन् । बैतडीको दोगडाकेदार ४ मा आयोजित चुनावी सभामा सम्बोधन गर्दै साउदले केही कमी कमजोरी भए पनि मुलुकमा सुशासन र लोकतन्त्रका लागि काँग्रेसको विकल्प नभएको बताएका छन् ।

काँग्रेसमा भएका कमी कमजोरीलाई सुधार्दै लग्नुपर्ने र लोकतन्त्रको रक्षार्थ सम्पूर्ण सुभेच्छुकदेखि पार्टी नेतृत्वसम्म एक हुनुको विकल्प नभएको उनले बताए । यतिबेला पार्टीको सम्पूर्ण ध्यान उप निर्वाचन र पार्टीको संगठन मजबुत बनाउनमा केन्द्रित भएको साउदले बताए ।

विगतमा प्राविधि रुपमा काँग्रेसको हार भए पनि मुलुकले दुईतिहाइको शक्तिशाली सरकारको अराजकता, लाचारीपना र असली चरित्र देखिसकेकाले काँग्रेसको विकल्प नभएको उनले बताए । काँग्रेस पनि आम जनता र कार्यकर्ताको भावनाको कदर गरेर अगाडि बढ्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

चुनावी सभामा पूर्व मन्त्री गोबिन्द शाह, पूर्व संविधानसभा सदस्य बहादुर सिंह थापालगायतको सहभागिता थियो । चुनावी सभाका क्रममा नेकपा परित्याग गरी कांग्रेसमा प्रबेश गर्ने दर्जनौ कार्यकर्तालाई काँग्रेसका प्रभावशाली नेता साउदलगायतले फूल र टिका लगाएर स्वागत गरेका थिए ।