बोहराले भनेः मुलुकमा धर्मयुद्ध हुनसक्छ

O शरद रेग्मी

तुलसीपुर ५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दीपक बोहराले नेपालमा जबरजस्ति धर्म परिबर्तन गर्ने ठूलो गिरोह सक्रिय भएको बताएका छन् । उनले यस्तो प्रवृतिले धर्मयुद्ध निम्त्याउन सक्नेतर्फ सचेत गराएका छन् ।

रिपोर्टस् क्लब दाङले बिहीबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘अहिले नेपालमा जसरी धर्म परिवर्तन गराइन थालेको छ, यो संविधान विपरित छ । यसले भविश्यमा ठूलो धर्मयुद्ध निम्त्याउन सक्छ ।’ यसप्रति सबैलाई सचेत रहन पनि उनले आग्रह गरे ।

उनले पूर्व राजालाई पनि संविधानको परिधिमा ल्याउनुपर्ने बताए । बिगतमा राजालाई संविधानभन्दा माथि राखिएको भए पनि अहिले संविधानको मातहतमा राख्ने गरि राजालाई समेटनुपर्ने उनले बताए । राजा राख्ने प्रक्रिया परम्परादेखि चल्दै आएको भन्दै यो परम्परालाई भुल्न नहुने उनको भनाइ थियो ।

पूर्व राजा पनि शक्तिशाली भएकाले संसदको मुनी रहनेगरि ब्यवस्थापन गर्न सकिएमा शक्ति सन्तुलन हुने उनको भनाइ थियो । अहिले सत्तापक्ष र प्रतिपक्षले मुलुकको बिकास र समृद्धिका लागि भूमिका निर्वाह गर्न नसकेको भन्दै यसको बिकल्प खोज्नुपर्ने बताए ।

भारतले सीमा मिचेको बिषयमा सरकार गम्भीर बन्नुपर्ने उनको माग थियो । भारतले लिम्पियाधुरा, लिपुलेक, कालापाना मिचेर नक्सा सार्बजनिक गरेको भन्दै यसमा सरकार गम्भीर नबनेको उनको आरोप थियो । ‘पहिलो पटक सर्बदलीय बैठकले सरकारलाई समर्थन गरेको छ, यस्तो अबस्थामा पनि सरकारले भारतसँग वार्ता गर्न सकेको छैन्,’ उनले भने, ‘यो बिषयमा सरकार गम्भीर बन्नुपर्छ ।’

राप्रपाका महामन्त्री राजेन्द्र लिङदेलले यो उपनिर्वाचन ‘मिनी’ जनमत संग्रह भएको बताए । बर्तमान सरकारले गरेका काम र प्रतिपक्षले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्न उपनिर्वाचनको भूमिका महत्वपूर्ण हुने बताए ।