हिन्दू सनातन धर्म हो सम्प्रदाय होइन

० डा. रामचन्द्र अधिकारी

हिन्दू सबैको साझा र सनातन धर्म हो । यो सम्प्रदाय होइन । हिन्दू धर्मले संसारका सबै मानवलाई समान मान्छ, आफ्नै मान्छ, पराइ ठान्दैन । हिन्दू धर्मले घृणा गर्दैन । ‘बसुदैब कुटुम्बकम्’ यस्को मूल आदर्श हो । मन्त्र हो । हिन्दूले परोपकारलाई पूण्य र परपीडालाई पाप ठान्दछ। यस्ले कोही माथि भेदभाव गर्दैन। सबैलाई समान मान्दछ। छुवाछुत हिन्दू धर्मको अङ्ग होइन्, यो धर्मशास्त्रको कुनै परिकल्पनामा छैन । पछि गएर थोपरिएको बिकृति हो । तेस्लाई हटाउन हरेक हिन्दू प्रतिबद्ध छ । हुनुपर्छ ।

हाम्रो झन्डा

हिन्दू राष्ट्र हटायर नेपाललाई धर्म निरपेक्ष बनाइयो । यसमा हरेक हिन्दूजनको घोर आपत्ति छ । अझ विश्व हिन्दू महासंघ नेपालको त विशेष आपत्ति छ । नेपालबाट हिन्दू धर्म र हिन्दू राष्ट्र हटाउने हो यस राष्ट्रको अस्तित्व रहँदैन। आज राजनीतिक जोडघटाउका लागि यो शब्दमा हटाउने दुस्प्रयास भएको छ । व्यबहारमा धर्म निरपेक्षताको कुरा गर्नेहरु नै बढी धर्मभिरु बनेका देख्न पाइन्छन् ।

चन्द्र सुर्य अन्कित नेपालको राष्ट्रिय झन्डा हाम्रो राष्ट्रको बिशिस्ट परिचय हो, यो संसार कै जेठो झन्डा हो र फरक अनि मौलिक पनि हो । यो झन्डासँग हाम्रो राष्ट्रियता कसरी जोडिएको छ, त्यो बुझ्न जरुरी छ । ‘अग्नी स्वमात्मकम जगत’ अर्थात तातो र चिसोको सन्तुलनबाट यो जगतको सृस्‍टि हुन्छ। तातो मात्र भए जल्छ, चिसो मात्रले बरफ बन्छ, जम्छ । त्यसैले शृष्टि कायम राख्न तातो र चिसोको सन्तुलन आवश्यक हुन्छ । तातोको श्रोत सूर्य हो, चिसोको स्रोत चन्द्रमा । सिङो शृस्‍टि सन्तुलित राख्ने चन्द्र सूर्यको प्रतिक हाम्रो राष्ट्रिय झन्डा हो ।

ने मुनीद्वारा नेपाल राष्ट्रको नामाकरणसंगै प्रचलनमा आएको राष्ट्रिय झन्डा आजपर्यन्त नेपाली आकाशमा फहराई रहेको छ । गोपाल, किराँत, लिच्छवी, मल्ल, शाह जति पनि बंशले राज्य गरे यो झन्डा कहिल्यै फेरियन, सधैं अटल रह्यो, चन्द्र र सूर्यजस्तै । यो राष्ट्रको कसरी उत्पत्ति भयो र अब यो कसरि युगान्तर टिकिरहन्छ ? भन्ने आम नेपालीको चिन्ता हुनुपर्ने हो । विडम्बना यति गम्भिर बिषयमा नेपालको नाम र झन्डा नै फेर्नुपर्छ भन्ने बहस केही बिदेशीका दासहरुबाट हुन खोज्छ । तर त्यो कदापी एक सनातनी नेपालीका लागि स्वीकार्य हुने छैन ।

हिन्दू राष्ट्र नेपाल

चन्द्र सूर्यको महत्व बुझियो, व्याकरण भन्छ ‘हु’ भनेको सूर्य ‘इन्दु’ भनेको चन्द्रमा । ह- इन्दु हिन्दू हुन्छ। सूर्य चन्द्रको अस्तित्वसँग जोडिएको छ हिन्दू धर्म। नेपालको राष्ट्रिय झन्डा र हिन्दू धर्म एक अर्काका परिपुरक हुन् । त्यसैले चन्द्र सूर्य रहेसम्म यो धर्म रहिरहन्छ, रहिरहनुपर्छ । हिन्दू धर्म रहेन भने नेपाल राष्ट्रको अस्तित्व रहँदैन, यो कुरा हरेक देशप्रेमी नेपालीले बुझ्न जरुरी छ । हिन्दू धर्म रहेन भने राष्ट्रलाई माया गर्ने देश भक्त रहँदैनन्। हिन्दू राष्ट्र हाम्रो माग होइन, यो त नेपाली जनताको जन्मसिद्ध अधिकार हो। तेसैले जतिसक्दो छिटो हिन्दू राष्ट्र घोषणा गर्ने हाम्रो संकल्प हो । यस महान कार्यमा संसार भरका हिन्दू धर्मप्रति आस्था राख्नेहरुको साथ आवश्यक छ । त्यो साथ हरेक सनातन धर्मका पक्षधरले दिनेछ भन्ने हाम्रो अटल विश्वास छ ।

(लेखक विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष हुन्)