काम गरेका मन्‍त्रीको पनि मूल्याङ्‍कन गरेन ओली सरकारले

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट प्रधानमन्‍त्री केपी शर्मा ओली सरकारका राम्रो काम गरेको भन्दै जनस्तरबाट रुचाइएका मन्त्री मध्येका एक हुन् । श्रम मन्त्रीविष्टले आन्तरिक श्रम बजार, वैदेशिक रोजगारी र अन्य नीतिगत सुधार काम राम्रो गरेको भन्दै जनता उनको कामबाट खुशी थिए ।

प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरे । नयाँ मन्त्रीमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ पर्दा वर्तमान मन्त्रिमण्डलबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको विदाइ गरियो । नवनियुक्त मन्त्रीहरूले सपथ ग्रहण समेत गरिसकेका छन् ।

नौ जना मन्त्री बर्खास्त हुँदै गर्दा यतिवेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई हटाइएकोमा भने जनता रुष्ट बनेका छन् । उनको पालामा भएका राम्रा कामको स्मरण गर्दै सामाजिक सञ्जालमा मन्त्री विष्टको पक्षमा जनमत बढ्दै गएको छ ।

केपी ओली नेतृत्वको सरकारका राम्रा मन्त्रीको विदाइले सरकारको काम गराइ सपस्ट भएको भन्दै थुप्रैले सरकारको कदमको बिरोध गरेका छन् ।

विष्टको ठाउँमा रामेश्वर राय यादवलाई नयाँ जिम्मेवारी दिइएको छ । उता २०७४ चैत्र २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री विष्टले २१ महिना श्रम मन्त्रालय धेरै सुधारका काम सुरु गरेको दाबी गरेका छन् ।

आफ्नो कार्यकालमा आन्तरिक रोजगारी र बैदेशिक रोजगारीलाई सुधार गर्न नीतिगत तथा कानुनी सुधारसँगै व्यवस्थापकीय सुधार भएको दाबी गरेका छन् ।

माहुरी झै काम गरें : गोकर्ण बिष्ट

निवर्तमान मन्त्री बिष्टले मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै माहुरी झै काम गरेको बताएका छन् ।

पुनःगठित मन्त्रिमण्डलमा नपरे पनि निवर्तमान मन्त्री बिष्टले थप उर्जा र प्रेरणासहित बाहिरिएको पनि जनाएका छन्।

‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ, वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरें’ बिष्टले फेसबुकमा लेखेका छन्, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु– थप उर्जा र प्रेरणाका साथ ।’

सामाजिक सुरक्षा, बैदेशिक रोजगारी देखी श्रममा ठगिएकाकालाई न्याय दिलाएर लोकप्रिय बनेका बिष्टको बर्हिगमनप्रति धेरैलाई चित्त बुझेको देखिएको छैन ।

तैपनि, काम गर्न अवसर दिएको भन्दै बिष्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद भने दिन छुटाएका छैनन् ।

‘मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु,’ उनले लेखका छन्, ‘सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !’

यसअघि मन्त्री हुदाँ पनि उर्जा र बिद्युतका क्षेत्रमा लोकप्रिय काम गरेका थिए। पहिलो पटक बिभागीय निर्देशक नियुक्ती गर्दा प्रतिस्पर्धावाट ल्याउने देखि विद्युत महशुल नतिर्ने सरकारी कार्यालयको बत्ति काटिदिएका थिए ।

जनताले गरेको मूल्याङ्‍कन

सरकारले नगरे पनि राम्राकामको मूल्याङ्‍कन जनताले गर्छन् भन्ने कुराको पनि यो एउटा उदाहरण हो । सरकारले नौ मन्त्री हटाउँदै गर्दा किन बिष्टको मात्र चर्चा बढ्यो भन्दा उनले गरेका राम्रो कामलाई जनताले स्मरण गरेका छन् ।

योभन्दा पहिले लालबाबु पण्डित शामान्य प्रशासनमन्त्री बन्दा उनको निको चर्चा भएको थियो । तर, यसपटक लालबाबुले जनताको अपेक्षा अनुसार काम गर्न सकेनन् र उनको चर्चा पनि भएन । उनी सधै ओझेलमा नै रहे ।

यसले जनताले राम्रा कामको मूल्याङ्‍कन गर्छन् भन्ने उदाहरण समेत प्रस्तुत गरेको छ । अब ओली सरकारका नवनियुक्त नौ मन्त्रीले कस्तो काम गर्ने छन् त्यो समयले नै बताउने छ ।

ट्याक्सी चढेर घर फर्किए

विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् । उनी नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन मन्‍त्रालय पुगेका विष्ट मन्त्रालयबाट पैदल आएका विष्टले सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर घर फर्किएका थिए ।

विष्टले मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरेका थिए । यसबाट उनले आफ्नो सादापन प्रस्तुत गरेका छन् । यसबाट उनको लोकप्रियता थप चुलिने छ ।