सरकार कम्युनिस्टप्रति बफादार बन्योः महर

नगरकोट । कांग्रेसका युवा नेता तथा नेबिसंघका पूर्व अध्यक्ष नैनसिंह महरले केपी ओली नेतृत्वको सरकार जनताकाभन्दा कम्युनिस्ट पार्टीप्रति बफादार बनेको बताए ।

कांग्रेस भक्तपुरले नगरकोटको तेल्कोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महरले भने, ‘जनताका दैनिक उपभोग्य सामग्रीमा तीन सय प्रतिशत मूल्य बृद्धि भएको छ । जनता महंगीको मारमा छन् । तर सरकार कालोबजारी, भ्रष्टाचारी र माफियाको पक्षमा देखिन्छ ।’

महरले सुन काण्ड, निर्मला हत्या काण्ड, सिण्डिकेट काण्ड, वाईडवडी जहाज काण्ड, बालुवाटार जग्गा काण्ड हुँदै सभामुख काण्ड सम्ममा नेकपा पार्टी र ओली नेतृत्वको सरकार निर्लज्ज तरिकाले संलग्न भएको आरोप समेत लगाए ।

उनले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत थुप्रै स्थानमा भारत र चीनले नेपाली भूमि मिच्दासमेत कम्युनिस्ट सरकारले ठोस कदम नचालेर मुकदर्शक बनेको बताए । राष्ट्रिय अस्मितामाथि खेलवाड भएको यो अवस्थामा नेपाली जनता आन्दोलित हुनुपर्ने वेला आएको महरले बताए ।

अधिनायकवादको आकाँक्षा बोकेको वर्तमान दुईतिहाईको सरकार चौतर्फि असफल भएको दावी गर्दै नेता महरले जनताले लाकतान्त्रिक बन्धन लगाउन काँग्रेसलाई विजयी गराउनुपर्ने बेला आएको विचार व्यक्त गरे ।