खप्तडमा रिङरोड र आवासगृह बनाउने तयारी

धनगढी । पछिल्लो समय सुदूरपश्चिममा रहेको खप्तड पर्यटकीय क्षेत्र विश्वजगतमै परिचित हुँदै गएको छ । धर्तीको स्वर्ग मानिने खप्डतमा यसअघि विकासका तमामौं योजना ल्याइए पनि तीं प्रभावकारी हुन नसकेको गुनासो छ ।

पछिल्लो समय पर्यटन बोर्ड र सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रमा रिङरोड र आवास गृह बनाउने योजना अघि सारेको छ । खप्तडमा एक सय जनाको क्षमताको पर्यटक आवास गृह निर्माणको तयारी गरिएको हो ।

पर्यटन विकास बोर्डले खप्तडमा आवास निर्माण गर्न पाँच करोड रुपैयाँ विनियोजन गरिसकेको छ । राष्ट्रिय निकुञ्जको कार्यालयले बीचपानीमा २५ बेडको विश्राम गृह र एक सय बेडको आवास गृह बनाउन टेन्डर समेत आह्वान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रमा चक्रपथ (रिङरोड) बनाउनले योजना अघि सारेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । खप्तड आधार शिविर छुने गरी निर्माण हुने रिङरोडको अध्ययन भइरहेको बताइएको छ । एकीकृत खप्तड पर्यटन विकास कार्यक्रमका लागि तीन करोड गरिएको छ । सुदूरपश्चिम आउने पर्यटकको रोजाईमा खप्तड पर्ने भएकाले यहाँको विकासमा सरकार विशेष सक्रिय हुन थालेको हो ।