‘कुटनीतिक पहलबाट सीमा विवाद समाधान होस्᠋’

 सिन्धुली । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाल-भारतबीचको सीमा विवादलाई कुटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिएका छन् ।

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा कार्यकर्ता भेटघाटका क्रममा पूर्व राष्ट्रपति यादवले चीन र भारतको युद्धको समयमा भारतलाई अस्थायी रुपमा कालापानीमा बस्न दिएकोमा अहिले भारतले त्यो हाम्रो भन्नु गलत रहेको टिप्पणी गरे ।

उनले कालापानी मात्र नभई लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र पनि नेपालकै भएको बताए । यो विवादलाई समाधान गर्न सरकारले कुटनीतिक पहल थाल्नुपर्ने उनको भनाई थियो ।

फरक प्रसंगमा उनले चुरे वन क्षेत्रको संरक्षणका साथै तराई र भित्री तराईको उर्वराखेती योग्य भूभागको संरक्षण गर्नकालागि आफ्नो कार्यकालमा ल्याइएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी नबनेकोप्रति चिन्ता व्यक्त गरे । उनले चुरे क्षेत्रमा दोहन बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसका लागि सबै गम्भीर हुनुपर्ने बताए ।