कम्युस्टि सरकारले संविधान भत्काउने काम गरिरहेको छः लेखक

बैतडी । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले दुईतिहाई बहुमतसहितको नेकपाको कम्युनिस्ट सरकारले संविधान भत्काउने कार्य गरिहेको आरोप लगाएका छन् ।

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा आयोजित चुनावीसभालार्य सम्बोधन गर्दै लेखकले ओली सरकारले रेल, पानीजहाज र हावाबाट बिजुलीको सपना देखाए पनि वास्तबमा वर्तमान सरकार विकास विरोधी भएको बताए ।

उनले यो सरकारले पुर्ववर्ती सरकारले शुरु गरेका काम समेत अवरुद्ध पारेको आरोप लगाए । अघिल्लो सरकारले अर्बौँ रुपैयाँ बजेट बिनियोजन गरेको त्रिदेशीय नाकाको रुपमा रहेको महाकाली करिडोर, पाटन पञ्चेश्वरलगायतका सडकको काम बजेट अभावमा रोकिएको नेता लेखकले बताए ।

प्रदेश सरकार र नेकपाका नेताहरु उपभोक्ता समितिमार्फत बजेट् बितरण गरेर कमिसनका नाममा भ्रस्टाचार गरिरहेको उनले दावी गरे । वर्तमान सरकार मानव अधिकार, प्रेस स्वतन्त्रताप्रति अनुदार रहेको लेखकको भनाइ थियो ।

लेखकले भने, ‘प्रधानमन्त्री ओली आफ्नो असफलता ढाकछोप गर्न मन्त्रीहरुलाई दोश दिएर उम्कन खोज्दैछन् ।’ त्यो कुरा मन्त्रीमण्डल हेरफेर गर्नुले सरकार असफल भएको प्रमाणित गरेको उनले जिकिर गरे ।

निर्वाचनमा झुठो आस्वासन दिएर जनमत लिएको सरकारले जनआकांक्षा पूर गर्न नसकेकाले सरकारप्रति जनता उदास भएको उनले बताए । सुखी नेपाली, समृद्द नेपालको नारा दिए पनि जनतालाई महङ्गी र करको मारमा पारेकोप्रति पूर्वमन्त्रीसमेत रहेका लेखकले रोश प्रकट गरे । चुनावीसभामा पूर्वमन्त्री नरबहादुर चन्द, काँग्रेस वैतडीमा पूर्वसभापति शिवराज भट्ट, चतुरबहादुर चन्दलगायत सहभागी थिए ।