विद्युत प्राधिकरणको टोली परशुराममा, नगरलाई पूर्ण विद्युतीकरण गर्ने प्रतिवद्धता

परशुराम । डडेल्धुराको परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदको विशेष अनुरोधमा विद्युत प्राधिकरणको टोलीले परशुराम नगरको भ्रमण गरेको छ । नगरको विद्युतीकरण गरेर जनतालाई विद्युत सुविधा उपलब्ध गराउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणको टोलीलाई नगरमा आमन्त्रण गरिएको नगर प्रमुख साउदले बताए ।

नगरप्रमुख साउदको आमन्त्रणमा नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशका निर्देशक शतिस कर्ण, वरिस्ट ईन्जिनियर रतनबहादुर ऐर र वरिस्ट लेखापाल रविन्द्र भट्टसहितको टोली नगरको फिल्ड भिजिटमा पुगेको हो । नगरमा पुगेको टोलीलाई नगरप्रमुख साउदलगायतले स्वागत गरेका थिए ।

निर्देशक कर्णले नगरमा ३३ केभी प्रशारण लाईन स्थापनाको लागि फिल्ड भिजिट गरेर तत्काल बोलपत्र आह्वान गर्ने, बिजुलीका जीर्ण पोल फेर्ने, विद्युतीकरणलाई नगरका सबै गाउँमा विस्तार गरि यस नगरलाई पूर्ण विद्युतीकरण गर्ने, नियमित विद्धुत प्रशारण गर्ने र नेपाल विद्युत प्राधिकरणको शाखा कार्यालय स्थापना गर्नेलगायतका विषयमा प्रतिवद्धता व्यक्त गरेको नगरले जनाएको छ ।

नगरप्रमुख साउदले निर्वाचनताका यस नगरका सबै वडामा सडक सञ्जाल विस्तार गर्ने, सिँचाई सुविधा पुर्याउने, सबै गाउँमा विद्युतीकरण गर्ने, तटबन्धनलगायतका विकास निर्माणका कामलाई आफ्नो कार्यकालमा एक स्तरमा पुर्याउने बाचा गरेका थिए । सोही अनुरुपम काम भइरहेको नगरपालिकाले जनाएको छ ।