प्रधानमन्त्री निवाश अगाडि निर्माण व्यवसायीको धर्ना

काठमाडौं । ‘सार्वजनिक खरिद नियमावली, २०७६’को आठौं संशोधनमा केही बुँदा आपत्तिजनक भएको भन्दै निर्माण व्यवसायीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा सोमबार धर्ना दिइएको हो । आन्दोलनरत व्यवसायीले हातमा कालोपट्टी बाधेर बिहान करिब एक घन्टा धर्ना दिएका थिए ।

आन्दोलनरत निर्माण व्यवसायीले विकास आयोजनाको म्याद थप, बैंक क्रेडिट लाइनलगायतका २५ बुँदे माग सम्बोधन गर्न सरकारलाई दबाब पुगोस भनेर धर्ना बस्नुपरेको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक खरिद नियमावली संशोधन गर्ने प्रतिवद्धता जनाएको चार महिना बितिसक्दा पनि कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष रवि सिंहले बताए। व्यवसायीको माग पूरा नभए विकास, निर्माणका काम समेत ठप्प पारिने उनले चेतावनी दिए ।