काँग्रेस प्रवक्ता शर्माले भनेः प्रतिपक्षीलाई सरकारप्रति शंका गर्ने अधिकार हुन्छ, ठहर गरेको होइन

पोखरा । कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको क्षेत्र समावेश गरेको सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति ठहर नभएर आशंका भएको बताएका छन् । शर्माले सोमबार पोखरामा पत्रकार सम्मेलनमा बोल्दै देउवाको अभिव्यक्ति ठहर नभएर शंका भएको बताएका हुन् ।

काँग्रेस सभापति देउवाले शनिबार पोखराको चुनावी सभालाई सम्बोधन गर्दै भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा आफ्नो नक्सामा पारेको आश.का व्यक्त गरेका थिए ।

प्रवक्ता शर्माले देशको स्वाधिनता मिचिएको अवस्थामा प्रतिपक्षी दलले सरकारप्रति शंका गर्न पाउने अधिकार भएको बताए । प्रतिपक्षी दलको नेताका हिसाबले सभापति देउवाले शंका व्यक्त गरेकाले सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जवाफ फर्काउनुभन्दा बरु भारतसँग जवाफ मागे उपयुक्त हुने धारणा पनि व्यक्त गरे ।

प्रवक्ता शर्माले पनि दुईतिहाइको सरकारले विपक्षीको साथ पाउँदा समेत सीमा मिचिएको कुरा दरिलो गरि उठाउन नसकेकाको प्रति असन्तुष्टि जनाए । उनले त्यसैले शंका उब्जिएको बताए । शर्माले भने, ‘अहिले सबैको साथ छ । सीमा विवाद मिलाउनका लागि यो उपयुक्त समय पनि हो । तर सबैको साथ हुँदा हुँदै पनि सरकारले ठोस कदम चाल्न सकेको छैन । त्यसैले शंका गर्न पाउने अधिकारको प्रयोग गर्नु स्वभाविक हो ।’