साग सञ्चालनको तयारी पूरा: मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले १३ औं साग सञ्चालन र तयारीको  काम सम्पन्न भैसकेको दावी गरेका हुन् ।  उनले भने, ‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको समउद्घाटन गर्नुहुनेछ ।’

मन्त्री विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताए ।

१३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीको लागि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाइ थियो । साग खेलका केही खेलहरु हिजोबाटै सुरु भैसकेको उनले जनाए । महिला र पुरुष भलिबलका खेल सुरु भैसकेका उनले बताए । ‘आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । यो हाम्रो लागि थप शुभसंकेत हो,’ उनले भने ।

यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको सुनाउँदै उनले सागमा नतिजा राम्रै आउने विश्वास दिलाए । भने, ‘सुरुवाती खेलको विजय सुरुवातबाटै नेपालले धेरै पदक जित्ने संकेत मिलेको छ ।’ उनले सागको उद्घाटन समारोहलाई भव्य बनाउनेगरि सिंगार्ने काम भैरहेको जानकारी दिए ।

उद्घाटन समारोहमा देशका ख्यातिप्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीको विशेष सांस्कृतिक प्रस्तुति हुने स्पष्ट पारे । सागलाई सफल तुल्याउनको लागि सबै क्षेत्रबाट साथ र सहयोग भएको भन्दै उनले धन्यवाद दिए ।

सागको समापन मंसिर २४ गते हुनेछ । सोही दिन विदेशी पाुहनाहरुलाई विदाई गरिने कार्यक्रम रहेको उनको भनाइ छ । सागलाई नेपाल भ्रमण वर्ष–२०२० प्रर्वद्धन गर्ने रणनीतिक तयारीको रुपमा पनि लिईएको उनले बताए ।

दक्षिण एशियाली राष्ट्र र अन्य देशबाट आउने विदेशी पाहुना, खेलाडी, रेफ्रीहरुलाई नेपालको मौलिक कला, संस्कृतिसँग साक्षात्कार गराईने तयारी रहेको उनले जनाए ।

साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहासिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए ।