काँग्रेसले गरायो निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं । उपनिर्वाचनका क्रममा विभिन्न स्थानमा निर्वाचन आचारसंहिता उलंघनलगायत सरकारी पक्षबाटै सुरक्षाकर्मी सरुवाको समाचार आइरहँदा प्रमुख प्रतिपक्षी दल काँग्रेसले उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षबाट आचारसंहिताको उल्लङ्घन भइरहेको आरोप लगाएको छ । आचारसंहिता उलंघन भएको विषयमा काँग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

काँग्रेसले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर आचारसंहिता उल्लङ्घनका सबै घटना र भय–त्रासविना स्वविवेकले मतदान गर्न मतदातामा अपिलसमेत गरेको छ । पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनको अन्तिम घडीमा बढ्नसक्ने राज्य नियन्त्रित निर्वाचन विरोधी गतिविधि रोक्ने सक्षमता प्रस्तुत गर्न निर्वाचन आयोगलाई आग्रह पनि गरे ।

आचारसंहिता विपरीत केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म चुनाव प्रचारमा संलग्न देखिएको, कयौँ स्थानमा सरकारी सम्पत्तीको दुरूपयोग गरिएको, काँग्रेसका उम्मेदवार तथा अन्य कार्यकर्तामाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले भौतिक आक्रमण गरेको काँग्रेसले दावी गरेको छ ।

आफ्नो अनुकूल बनाउने प्रयासमा कयौँ कर्मचारीलाई निर्वाचन क्षेत्रबाट अन्यत्र सरुवा गरिएको शर्माले बताए । ‘अरूबेला काममा ढिलासुस्ती हुने तर अहिले कयौँ ठाउँमा रातारात डोजर चलाउने, सडक पीच गर्ने अनि योजना मै नभएका काम पनि चाँडै सम्पन्न गर्छौँ भनेर प्रलोभनमा पार्ने काम आचारसंहिता विपरित छन्,’ शर्माले भने ।

त्रिचन्द्र क्याम्पस प्रमुखमाथि भएको आक्रमण निन्दनीय भएको बताउँदै प्रवक्ता शर्माले शुल्क वृद्धिका विरुद्ध आवाज उठ्नु जायज भएको तर सत्तारुढ नेकपा निकटका विद्यार्थीले क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गर्नु दुःखद् मात्रै होइन दण्डनीय भएको उनले बताए ।

नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरासमेत गाँसेर भारतले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दासमेत सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गरेको भन्दै प्रवक्ता शर्माले कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशङ्का र खतरा बढेको बताए । यस विषयमा सरकार गम्भिर नभएको उनले बताए ।