प्यूठान र अछाममा नेकपा, चितवन र मोरङमामा काँग्रेस विजयी

काठमाडौं । चितवनका तीन वडामा वडाध्यक्ष पदका लागि भएको उप निर्वाचनमा नेपाली काङ्ग्रेस विजयी भएको छ । भरतपुर महानगरपालिका–१६ मा काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका छन्, उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाल पराजित भएका हुन् ।

उता पूर्वी खैरहनी नगरपालिका–४ मा काँग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका छन् । बस्नेतले एक हजार १३८ मत ल्याए भने नेकपाका वेदबहादुरलाई ९८६ मत प्राप्त भएको थियो ।

खैरहनीकै वडा नं ५ मा काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले ८६ मत अन्तरले जित हात पारेकी छन् । उनका प्रतिद्वन्दी नेकपाका पुननारायण प्रधानलाई कार्कीले पराजित गरेकी हुन् ।

त्यस्तै प्यूठान नगरपालिका–२ मा भएको वडाध्यक्ष पदको निर्वाचनमा नेकपाका उम्मेदवार मुक्ति पोख्रेल विजयी भए । उनका प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार मोहनसिं बिष्ट २८४ को मतान्तरले हारेका हुन् ।

अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपाका रमेश खड्का विजयी भएका छन् । उनका निकट प्रतिद्वन्दी काँग्रसका उम्मेदवार वीरबहादुर बोहरा २१५ मतअन्तरले हारेका हुन् । नेपाली काँग्रेसबाट निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो ।

निर्वाचन सकिएलगत्तै शनिबार साँझ नेकपा र काँग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडप भएको थियो । झडपमा नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य गम्भीर साउद र काँग्रेसका डम्बर स्वार घाइते भएका छन् ।