शव बोकेर फर्किएको एम्बुलेन्स दुर्घटना, एकै परिवारका ५ सहित ६ जनाको मृत्यु

गाइघाट । शनिबार राति करिब १ बजे बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँच जनासहित ६ को मृत्यु भएको छ ।

विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को १ त ९३६४ नंको एम्बुुलेन्सबाट मृतक लिएर घर फर्कन क्रममा पश्चिमबाट आउँदै गरेको ना २ ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिएको थियो ।

दुर्घटनामा एम्बुलेन्समा सवार सबैको मृत्यु भएको एम्बुलेन्स चालक संघ उदयपुरका अध्यक्ष मेहबुब आलमले जानकारी दिए । मृत्यु हुनेमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् । एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि मृत्यु भएको एम्बुलेन्स चालक संघ उदयपुरका अध्यक्ष आलमले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार मृतक सबैको शव सुनसरीको इनारुवा अस्पतालमा राखिएको छ । फरार ट्रक चालकको खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।