ग्यास सिलिण्डर बिस्फोट हुनबाट यसरी बच्न सकिन्छ

० अक्षर सुझाव

खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट भएर दैनिकजसो अप्रिय घटना हुने गरेको समाचार हामीले सुन्ने, देख्ने गरेका छौँ । खाना पकाउने ग्यासको प्रयोग दैनिक भइरहेको हुन्छ । ग्यास सिलिन्डर राम्रोसँग चेकजाच नगर्नले कहिलेकाहीँ ग्यास चुहिने, सिलिन्डर पड्किने जोखिम हुन्छ । एलपिजी ग्यास कसरी प्रयोग गर्ने ? के कुरामा ध्यान दिने भन्ने बारे यहाँ प्रस्तुत गरिएको छ ।

० ग्यास सिलिन्डर प्रयोग गर्दा सँधै नेपाल सरकारबाट मान्यता प्राप्त कम्पनीको ग्यास प्रयोग गर्नुस । रेगुलेटर किन्दा सस्तो र जहाँपायो त्यहीँबा नलिनुस । राम्ररी चेकजाच गरेर मात्र रेगुलेटर किन्नुस र प्रयोग गर्नुस ।

० नयाँ सिलिन्डर प्रयोग गर्दा शिलबन्दी छ, छैन भनेर हेर्नुस । तपाईँलाई ग्यास कसरी प्रयोग गर्ने भन्ने ज्ञान छैन भने ज्ञान प्राप्त व्यक्तिको सहयोग लिनुस् ।

० ग्यास सप्लाई हुने पाइप र रेगुलेटर समयसमयमा मर्मत गर्नुस । यो काम सकेसम्म वितरक, मेकानिकलाई अह्राउनु राम्रो हो । अरु समय अथवा ग्यास प्रयोग गरिसकेपछि रेग्युलेटर अनिवार्य बन्द गर्नुस । सिलिन्डरलाई जमिनभन्दा थोरै माथि अग्लो ठाउँमा ठाडो पारेर राख्नुस । ग्यास राखेको कोठा हावा पास हुने हुनुपर्छ भन्ने कुरा ख्याल गर्नुस ।

० सिलिन्डरलाई ग्यास चुलो नजिकै नराख्नुस । नजिक राखेमा ग्यास लिक भए आगोलाग्ने सम्भावना बढी हुन्छ । सिलिन्डरलाई तातो बस्तुबाट टाढा राख्नुस ।

० ग्यास चुहिएको छ भने तुरुन्त झ्याल ढोका खोल्नुस् । अगरबत्ती, मैनबत्ती, ग्यासको रेगुलेटर बन्द गर्नुस । कोठामा ग्यास लिक भएको समयमा बिजुलीको स्वीच अन, अफ नगर्नुस, त्यसो गर्दा त्यहाँबाट आउने झिल्काले आगलागी हुनसक्छ ।

० ग्यासमा आगो लागिहालेमा नआत्तिएर बोरा वा सुचिको बाक्लो कपडाले पुरै सिलिन्डर छोपिने गरि झ्याप्न छोप्नुस ।

० एलपिजी ग्यास हावा भन्दा बढी भारी हुने भएकाले लिक भएमा यो जमिनको सतहमा आएर थेग्रिन्छ । त्यसैले चारैतिरबाट हावा पास हुन दिनुस् ।

० ग्यास चुहिएको छ कि छैन भनेर चेक गर्न सलाईको प्रयोग नगर्नुस । हातको औला सिलिन्डरको मुखमा लगाएरै ग्यास लिक भए नभएको थाहा पाउन सकिन्छ ।

० बालबालिकाले चलाउने गरि सिलिन्डर नराख्नुस ।