गर्भा दरबारमा साइकल यात्रा

कैलाली । कैलाली । आउदो शुक्रबार अर्थात मंसिर २० गते तीन प्रदेशका साइकल यात्रीले कैलालीको ऐतिहासिक गर्भा दरबारसम्म साइकल यात्रा गर्ने भएका छन् । शुक्रबार र शनिबारसम्म गरिने उक्त यात्रामा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका साइकल यात्री सहभागी हुने साइकलयात्री भरतबिक्रम शाहले बताए ।

उनीहरुले यसलाई ुप्रथम ऐतिहासिक गर्भादरबार साइकल यात्राुको नाम दिएका छन् । साइकल यात्रामा दाङबाट साइकलयात्री रेशम केसीको टोली, प्रदेश पाँचको नेपालगञ्जबाट सतिस निरौलाको टिम र सुदूरपश्चिम प्रदेशबाट भरतबिक्रम शाहको टिम सहभागी हुनेछ ।

सोही क्रममा पश्चिम नेपालको साइकले परिवारलाई फरक ढंगले अगाडि बढाउने र यस क्षेत्रका ऐतिहासिक, प्राकृतिक र पर्यटकीय क्षेत्रको पहिचान उजागर गर्ने निर्णय पनि गरिने साइकलयात्रीहरुले बताएका छन् । कैलालीको साविक खैराला गाविसका रहेको गर्भा दरबार विक्रम संबत १९८२ मा निर्माण सुरु भई ८४ मा सम्पन्न भएको हो ।

तत्कालीन राणा साशकले निर्माण गरेको यो दरबार सुदूरपश्चिम प्रदेशभरिकै जीवित ऐतिहासिक संरचना हो । यसअघि दुई साता अघि मात्रै साइकलयात्री भरतबिक्रम शाहले यहाँसम्म साइकल यात्रा गरिसकेका छन् । एक साताअघि धनगढी र फुलबारीको दारी ग्याङले दरबार क्षेत्रको सरसफाई गरेको थियो ।

लामो समयदेखि पत्रपत्रिकामा लेखिँदै आए पनि यो दरबार भरखरै पहिचानमा आउन थालेको हो । केही दिन अघि मात्रै जिल्ला समन्वय समितिको बैठक पनि दरबारमा गएर बसेको थियो । हालै दरबारसम्म पुग्ने सडक मार्गको ट्याक खोलिएको छ । जोखिमपूर्ण बाटो भएकाले यसको मर्मत र थप स्तरोन्नती गर्नुपर्ने स्थानीयहरु बताउँछन् ।