मेयर एसपिए कप भलिबलः सेमिफाईनल समिकरण पुरा

धनगढी । धनगढीमा भइरहेको मेयर एसपिए कप महिला भलिबल प्रतियोगिता सेमिफाईनल समिकरण पुरा भएको छ । प्रतियोगिताको दोस्रो दिन लिग चरणका सात खेल सम्पन्न भएसँगै अन्तिम चारको समिकरण पुरा भएको हो ।

समुह ए बाट विजेता बन्दै विरेन्द्र विद्या मन्दिर टीकापुर र उपविजेता बन्दै आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमी सेमिफाईनलमा पुगेका छन् । समुह बी बाट भने जनता नमुना मावि कैलारी विजेता र दुर्गाालक्ष्मी उच्च मावि उपविजेता बन्दै सेमिफाईनल पुगेका हुन् ।

सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजनामा भईरहेको मेयर एसपिए कप अन्तर क्याम्पस महिला भलिबल प्रतियोगितामा आज खेलेका तीन खेलमा विरेन्द्र विद्या मन्दिरले जित हात पारेर समुह ए को शीर्षस्थानमा रहेको हो ।

विरेन्द्रले पहिलो खेलमा एक्सीस विद्याश्रमलाई २५–७ र २५–६ ले हराउँदा दोस्रो खेलमा दुर्गालक्ष्मी वहुमुखी क्याम्पसलाई २५–७ र २५–२० को सेटमा हराएको हो ।

तेस्रो खेलमा आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमीलाई २५–२१, १३–२५ र २५–१९ को सेटले हराएको हो । आज नै भएको खेलमा आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमीले एक्सीस विद्याश्रमलाई २५–१२ र २५–१२ को सेटमा हराएर समुह ए को उपविजेता बनेको हो ।

यसअघि हिजो सुदुरपश्चिमाञ्चल एकेडेमीले अत्तरियाको दुर्गालक्ष्मी वहुमुखी क्याम्पसलाई हराएको थियो । समुह ए मा एक्सीस विद्याश्रम र दुर्गालक्ष्मी वहुमुखी क्याम्पसको खेलको नतिजाले कुनै अर्थ नराख्ने भएपछि त्यो खेल नखेलाईएको आयोजकले जनाएको छ ।

समुह बी तर्फको खेलमा आजका दुवै खेल जित्दै जनता नमुना मावि कैलारी समुह विजेता बनेको छ । जनताले पहिलो खेलमा कैलाली वहुमुखी क्याम्पसलाई २२–२५, २५–११ र २५–१३ को सेटमा हराउँदा दोस्रो खेलमा दुर्गालक्ष्मी उच्च माविलाई २५–१४ र २५–१० को सोझो सेटमा हराएको हो ।
आज नै भएको अर्को खेलमा दुर्गाालक्ष्मी उच्च माविले कैलाली वहुमुखी क्याम्पसलाई २५–१९ र २५–१३ को सेटमा हराएको हो ।

प्रतियोगिताको पहिलो सेमिफाईनलमा सुदुरपश्चिमाञ्चल एकेडेमी र जनता नमुना मावि तथा दोस्रो सेमिफाईनलमा विरेन्द्र विद्या मन्दिर र दुर्गालक्ष्मी उच्च मावि प्रतिस्पर्धा गर्नेछन् ।

जित्ने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सेमिफाईनल र फाईनल खेल भोली नै हुने प्रतियोगिताका संयोजक भागिराम वखरियाले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाको सहयोगमा भईरहेको प्रतियोगिताको विजेताले नगद ५० हजार उपविजेताले नगद २५ र तेस्रो हुने टीमले नगद १२ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।