निरलज्ज प्रहरी, कलिला टाउकोमा गोलीको बर्सा

काठमाडौं । बाँकेको कोहलपुर आज दिनभर तनावग्रस्त रह्यो । तनावग्रस्त हुनुको कारण हो एक जना विद्यार्थीलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाउनु, त्यसको विरोधमा विद्यार्थी उत्रिनु र सम्यम गुमाएर कलिला विद्यार्थीमाथी गोली चलाउनु ।

बिहान कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई किचेर गम्भीर घाइते तुल्यायो । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि चन्दलाई ठक्कर दिएको हो । साथीलाई आँखै अगाडि ट्रकले ठोकेर गएपछि विद्यार्थी आक्रोसित बने । आक्रोसित विद्यार्थीले आन्दोलन सुरु गरे ।

प्रहरी घटनास्थल पुग्यो । उसले भिडलाई सान्त पार्नुपर्नेमा दमन गरेर विद्यार्थीलाई निरुत्साहित पार्न खोज्यो । तर, प्रहरी दमनले अर्कै रुप लियो । प्रहरीको हस्तक्षेपपछि स्थानीय थप आक्रोसित बने ।

सडकमा हिँड्दै गरेका साना साना कलिला बालबालिकालाई हात समातेर प्रहरीले कुटिरहेका तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका थिए । कलिला स्कुले बालवालिकामाथी दमन गरेर कुनै बहादुरी नभई निरिहता प्रस्तुत गरेको थियो । जसको चौतर्फी विरोध भयो र विद्यार्थीको आन्दोलनमा स्थानीय समेत मिसिय । जसले आन्दोलनलाई थप उग्र बनायो ।

घटनापछि आक्रोशित भएका स्थानीय र विद्यार्थीले ट्रकमा आजगनी गरे । आधा दर्जन अन्य गाडीसमेत तोडफोड गरे ।

यसक्रममा प्रहरीले गोली चलायो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ३० राउण्ड हवाइ फायर मात्र गरेन स्कूले विद्यार्थीलाई नै गोली हान्यो ।

झडपका क्रममा स्थानीय त्रिभुबन माबि कक्षा ९ मा अध्यनरत शुसील थापाको टाउकोमा गोली लाग्यो ।

गोली लागेपछि थापालाई उनका साथीहरूले मोटरसाइकलमा राखेर अस्पतालतर्फ दौडाए ।

टाउकोबाट रगत बगिरहेको र अस्पतालतर्फ दौडाइरहेको थापाको सोही भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

पत्रकार रविन्द्र सिंह ठकुरीले पोष्ट गरेको भिडियो र फेसबुक स्टाट्स एकाएक भाइरल बनेको हो ।

प्रहरीको कुटाइबाट अन्य थुप्रै विद्यार्थीसमेत गम्भीर घाइते बनेका छन् । स्कुले विद्यार्थीहरुमाथि यसरी निर्ममतापूर्वक प्रहरीले बल प्रयोग गरेकामा मानवअधिकारकर्मी, अभिभावक र शिक्षकहरुले आपत्ति जनाएका छन् । घटनाको भत्र्सना गर्दै उनीहरुले प्रहरीको रवैयाबाट आफुहरु स्तब्ध बनेको उल्लेख गरेका छन् ।