अब २५ वर्ष मुनीका युवायुवतीलाई मदिरा पिउन बन्द

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले २५ वर्षभन्दा कम उमेरका युवाले मदिरा बेचबिखन तथा सेवन गर्न बन्द गरेको छ । मदिराको सेवन तथा बिक्रीवितरणमा रोक लगाउन गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवालाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

कुलतका कारण युवायुवती गलत बाटोमा लागेका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । पढ्ने उमेरका युवा कुलतमा बढी फसेका कारण मदिरामा प्रतिबन्ध लगाइएको अध्यक्ष बोहोराको भनाइ छ ।

पच्चीस वर्ष नपुगेका युवा युवतीले मदिरा सेवन तथा बिक्रीवितरण गर्न नपाउने गाउँकार्यपालिकाको बैठकबाट निर्णय भएको हो । यदि कसैले सार्वजनिकस्थलमा मदिरा सेवन गरी हल्ला वा बिक्री गरेको भेटिएमा हदैसम्म जरिवना र कानूनी उपचारका लागि सम्बन्धित निकायमा पहल गरिने अध्यक्ष बोहोराले बताए ।