शताब्दी पुरुष जोशीलाई पृथ्वी प्रज्ञा–पुरस्कार

काठमाडौं । सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशिको पृथ्वी प्रज्ञा–पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा दिने पुरस्कारको राशि चार लाख नगदसहित दोसल्ला र सम्मानपत्र छ । राष्ट्रपति निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष जोशीलाई पुरस्कार हस्तान्तरण गरेकी हुन् ।

यसैगरी नेपाल प्रज्ञा सामाजिक शास्त्र÷संस्कृति÷दर्शन पुरस्कार प्रा डा त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरिएको छ । हरेक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि एक लाखसहित दोसल्ला र सम्मानपत्र छ । नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा डा टङ्कप्रसाद न्यौपानेलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारको राशि एक लाख, दोसल्ला र सम्मानपत्र छ ।

नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५ मदन रेग्मी, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७६ भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०७५ पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ, नेपाल प्रज्ञा मातृभाषासाहित्य पुरस्कार २०७५ तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अयोध्यानाथ चौधरी, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०७६ पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमृत योञ्जन तामाङ तथा नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०७६ तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अशोक थारुलाई प्रदान गरिएको थियो ।

पाँचवटै पुरस्कारको राशि एक लाख नगद, दोसल्ला र सम्मानपत्र छ । राष्ट्रपति भण्डारीले राष्ट्रिय कविता महोत्सव २०७६ मा विजयी कविलाई पनि पुरस्कृत गरिन् । महोत्सवमा पहिलो स्थान हासिल गर्ने धादिङका हेम प्रभासलाई ३५ हजार, दोस्रो स्थान हासिल गर्ने डोटीका सुभाषचन्द्र भण्डारीलाई २५ हजार, तेस्रो स्थान हासिल गर्ने लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौँका प्रकाश बस्नेतलाई २० हजार प्रदान गरिएको थियो ।