३४ बर्षिया मरिन विश्वकै कान्छी प्रधानमन्त्री बन्दै

एजेन्सी । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्ने भएकी छिन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अन्ति रिन्नेको पार्टीले मन्त्री समेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेकाले उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

उनी आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुन् । आफ्नो पार्टी अध्यक्षले बिरामी विदा लिँदा गत बर्ष पार्टी चलाएको अनुभव उनीसँग छ । गठबन्धन सरकारका रहेका पाँच पार्टीमध्ये फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी) ले प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ बर्षीया मरिनलाई सरकारको नेतृत्व गर्न पठाउनेगरी चयन गरेको छ ।

कान्छा प्रधानमन्त्रीमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको ३९ वर्ष भए ।
सोसल डेमोक्र्याटिक संसदीय समूहमा उनले ३७ बर्षीय अन्ति लिन्डमानलाई तीन मतले पराजित गर्दै प्रधानमन्त्री बन्ने बाटो सुनिश्चित गरेकी हुन् । लिन्डमानले २९ मत ल्याउँदा मरिनले ३२ मत ल्याएकी छिन् ।

पार्टीभित्रको निर्वाचन आइतबार भएको थियो भने नतिजा राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिएको थियो । हुलाक सेवामा भएको हडतालको विषयले नराम्रो रुप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले भने विश्वासको मत गुमाएर राजिनामा दिएका थिए । उनलाई गठबन्धनमा रहेकै दलका सांसदहरूले असहयोग गरेका थिए ।