काठमाडौंका मेयर विद्यासुन्दरले भनेः ‘अकुपाइ टुँडिखेलुको अर्थ छैन

काठमाडौं । यतिबेला ‘अकुपाइ टुँडिखेल अभियान’ जोरतोरका साथ चलिरहेको छ । एक मात्र खुला र ऐतिहासिक टुँडिखेल जोगाउनुपर्ने उद्देश्य अभियानको हो । तर काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाइ टुँडिखेल अभियान’ सञ्चालन गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

उनले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा कमी आएको पनि स्वीकारे । तर निर्माणकार्य सम्पन्न भएसँगै टुँडिखेल पुरानै अवस्था फर्कने दावी उनको छ । उनले मिडियासँग कुरा गर्दै टुँडिखेल खुला गर्नुपर्ने चाहना आफूहरुको पनि भएको तर ‘अकुपाइ टुँडिखेल अभियान’सञ्चालन गर्नु कुनै आवश्यक नभएको बताए । तीन महिनामा टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखेर संरक्षण र खुला बनाउने दायित्व महानगरको भएको पनि उनले स्पस्ट पारे ।

सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाइ टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहेका छन् । शाक्यले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले सक्दो प्रयास गर्ने पनि बताए ।