नेपाल ल क्याम्पसमा रोकियो कानूनको भर्ना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसको शैक्षिक सत्र २०७५÷०७८ का लागि स्नातक तह प्रथम वर्ष (एलएलबी) को भर्ना प्रक्रिया पुनः स्थगित भएको छ । कोटा प्रणाली निर्धारण गरेर भर्ना प्रक्रिया शुरु गरेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी संघलगायत विद्यार्थी सङ्गठनले कानून संकाय डीन कार्यालय, क्याम्पस प्रमुख, लेखा शाखामा ताला लगाएपछि भर्ना प्रक्रिया रोकिएको हो ।

क्रान्तिकारीका क्याम्पस एकाइ अध्यक्ष दीपक थापाले सबै विद्यार्थीले पढ्न पाउने वातावरणका लागि कोटा प्रणाली खारेजीको माग गर्दै तालाबन्दी गरिएको बताए । क्याम्पसले यही मङ्सिर १० गतेदेखि उक्त शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गरेको थियो । विद्यार्थी सङ्गठनले मङ्सिर १५ गतेदेखि ताला लगाएका हुन् । क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले विद्यार्थीले तालाबन्दी गरेपछि भर्ना प्रक्रिया रोकिएको जानकारी दिए ।

‘सर्वोच्च अदालतको आदेश र त्रिवि कार्यकारी परिषद्ले तीन सय जना पढाउने गरी भर्ना प्रक्रियाको निर्देशन दिएपछि हामीले भर्ना प्रक्रिया शुरु गरेको हौँ,’ उनले भने, ‘तर विद्यार्थी संगठनले तोकिएको कोटाको विरोधमा ताला लगाएका छन् । हामीले कोटा तोकेका होइनौँ । आदेशलाई मात्र कार्यन्वयन गरेका हौँ ।’
त्रिवि कार्यकारी परिषद्ले कात्तिक २४ गते ल क्याम्पसलाई पत्र पठाउँदै तीन सय मा दुई सय ४० खुला र ६० समावेशी कोटामा भर्ना गर्न निर्देशन दिएको थियो ।