कर्णालीमा सुत्केरीलाई पोषण कोसेली

कर्णाली । कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाले पोषणबापत दुई हजार पाउने भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्सिर महिनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत दुई हजार रकम प्रदान गर्ने भएको हो ।

यो व्यवस्थासंगै कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाले चार हजार ८०० पाउने भएका छन् । यसअघि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले यातायातबापत दुई हजार र चार पटक गर्भ जाँच गरेबापत ८०० पाउँदै आएका थिए ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार पोषणबापत दिइने दुई हजार प्रदेश अस्पतालको हकमा भने विपन्न महिलालाई मात्र प्रदान गरिने छ । अन्य स्वास्थ्य संस्थामा भने सबै सुत्केरीलाई प्रदान गरिने छ ।

स्वास्थ्य संस्थामा प्रसूति हुन आउनका लागि प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याइएको सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘कर्णालीमा रहेका विपन्न गरीब महिलालाई पोषणमा केही राहत होस् भन्नका लागि कार्यक्रम ल्याएका हौँ,’ उनले भने ।

मन्त्रालयका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले कोसेली कार्यक्रमका लागि चालु आर्थिक वर्षमा चार करोड बजेट छुट्याइएको जानकारी दिए ।