गुटले लथालिंग कांग्रेस : न पार्टीको चिन्ता, न संगठनको

काठमाडौं । नेपालकै पुरानो राजनीतिक दल नेपाली कांग्रेस यतिवेला निकै अस्तव्यस्त बनेको छ । पार्टी भित्रको आन्तरिक कलहका कारण कांग्रेस कमजोर बनेको हो । कांग्रेसले न प्रभावकारी रुपमा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सकेको छ न पार्टीका गतिविधिहरूलाई नै अगाडी बढाउन सकेको छ ।

नेपाली कांग्रेसको नरसरीको रुपमा रहेको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघ नेतृत्व बिहीन हुन पुगेको दश महिना पुगिसकेको छ । तरुणदल नेतृत्व बिहीन भएको पनि महिला पुग्न लाग्यो । अन्य भातृ संस्थाको अवस्था पनि उस्तै छ । पार्टीको महाधिवेश गर्नुपर्ने मिति नजिकिदै छ ।

तर, नेताहरूलाई पार्टीको कुनै चिन्ता छैन । सबै गुट उपगुट बनाउनमै लागेका छन् । सबैलाई पार्टीभन्दा गुट उपगुटकै चिन्ता छ ।

नेविसंघ नेतृत्व बिहीन बनाएर दश महिनासम्म निर्वाचन गराउन नसकेको भन्दै नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले आक्रोस पोख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आधाआधी देशभरको निर्वाचन सकेर महाधिवेशन उन्मुख नेविसंघको तत्कालीन केन्द्रीय समिति पार्टीभित्रका सबै गुटको थप कोर गुट निर्माण गर्ने आशयले असहयोग हुँदा महाधिवेशन सम्पन्न नगरि राजीनामा दिनु परेको थियो । केन्द्र बिनाको आज १० महिनासम्म संगठनले ब्यहोरेको क्षति अपुरणिय हुँदाहुँदै पनि पार्टीको सिंगो केन्द्रीय समिति अहिलेसम्म भाग वण्डाको झगडा देखाएर दुनिया हँसाउन मै व्यस्त देखिन्छ ।
विधानभन्दा व्यक्ति प्रमुख हुन सक्दैन यसर्थ नेविसंघको विधानले व्यवस्था गरेअनुसार पदाधिकारी सहितको १०१ जनाको केन्द्रीय समिति विद्यार्थीको भावना सम्बोधनहुने गरी यथाशक्य छिटो निर्माण हुनु आवश्यक छ ।’

उनले अगाडी लेखेका छन्, ‘कांग्रेसको नर्सरीका रुपमा रहेको नेविसंघ बारम्बार गुटकीय आक्रमण गरेर शशक्त कांग्रेसका माध्यमले बिकसीत र समृद्ध “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” निर्माणमाको हाम्रो साझा संकल्पमा कही कतैबाट आक्रमण हुनु हुँदैन ।’

लथालिंग पार्टी

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागू भएको चार वर्ष वितिसक्दा कांग्रेसको संगठनात्मक संरचना पनि अझै संघीयताअनुकूल बन्‍न सकेको छैन ।

एक वर्षअघि काठमाडौंमा भएको महासमिति बैठकले पारित गरेको विधान माघमा अनुमोदन भएको थियो भने नियमावली अझै बनेको छैन ।

पार्टीले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठन गरेको मस्यौदा समितिले प्रस्ताव गरेको नियमावलीलाई संशोधन गरी पार्टी केन्द्रीय कार्यसमितिले गत २९ असारमा पारित गरेको थियो ।

तर, मस्यौदा समितिले केन्द्रीय कार्यसमितिबाट प्राप्त भएको अधिकारबमोजिम केन्द्रीय सदस्यहरूको सुझावलाई समेटेर नियमावली अझै ल्याउन सकेको छैन ।

कांग्रेसमा हालको संघीय संरचनाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय समिति, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रीय समिति, महानगर, उपमहानगर, नगर र गाउँपालिका कार्यसमिति, वडा कार्यसमिति र मतदान केन्द्र कार्यसमिति अझै गठन हुन सकेको छैन ।

नयाँ संघीय संरचनाअनुसार धेरैजसो जिल्लामा संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहको सीमा, क्षेत्र र संख्या संशोधन गरिएका कारण पार्टीले ती तहमा नयाँ तदर्थ समिति गठनसमेत गर्न सकेको छैन ।

पार्टीले कात्तिक मसान्तभित्रमा सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर संघीय निर्वाचन क्षेत्रीय समिति, प्रदेशसभा क्षेत्रीय समिति, नगर वा गाउँ कार्यपालिका समिति, वडा र बुथ समिति गठन गर्ने निर्णय गरेको थियो ।

तर, पार्टी केन्द्रीय कार्यसमितिले हालसम्म पनि सबै स्थानीय तहमा तदर्थ समिति गठन गरेको जानकारी केन्द्रमा आई नसकेको जनाएको छ ।

पौडेल निवासमा देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बरिष्ठ नेता रामचन्द्र पौडेललाई उनको निवास बोहराटार नै पुगेर भेटे ।

दुई दिन अघि बसेको केन्द्रीय समिति बहिष्कार गरेका पौडेललाई सहमतिमा ल्याउन देउवा पौडैल निवास नै पुगेका हुन् ।

पौडेलले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिँदै दुई दिन अगाडी बोलाइएको पार्छीको बैठक नै बहिस्कार गरेका थिए ।

महाधिवेशन नै अन्यौलमा अन्योल

नेपाली कांग्रेसको विधान अनुसार प्रत्यक चार वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्छ । तर, पार्टीको १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाको कार्यकाल आगामी फागुन मसान्तमा सकिने भए पनि अर्को महाधिवेशनको तयारी गरेका छैनन् ।

विशेष परिस्थितिका कारण निर्धारित समयमा महाधिवेशन गर्न नसके एक वर्ष थप गर्न सक्ने कांग्रेसमा वैधानिक व्यवस्था छ । तर, अहिले पार्टीमा त्यस्तो विषम परिस्थिति केही छैन । यस्तो बेला महाधिवेशलाई पर धकेल्नु भनेको पार्टीलाई गतिहीन बनाउनु रहेको बताउँदै असन्तुष्ट खेमाले देउवालाई असहयोग गर्दै आएको छ ।

महाधिवेशनको कुनै पनि तयारी नथालिएको र पार्टीको सदस्यता नविकरणदेखि अन्य थुप्रै काम गर्न बाँकी रहेकाले पनि पार्टीको महाधिवेशन एक वर्ष धकेलिनेमा दुई मत छैन ।