किम्फ समापनः ‘पियानो टु झंस्कर’ले हात पा¥यो दुई लाख

काठमाडौं । पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तर्फ दुई लाख राशीको प्रथम पुरस्कार माइकल सुलिमाको ‘पियानो टु झंस्कर’ ले जितेको छ ।
कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो भएको छ । जसले एक लाख ५० हजार रुपैयाँको पुरस्कार प्रापत गरेको छ । त्यस्तै मार्गा गुटेरिजको ‘रोप्स्’ ले एक लाख रुपैयाँ राशीको तेस्रो पुरस्कार हात पारेको छ ।

नेपाल पानोरामा अन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेड अफ माने’ गैर–कथानक (ननफिक्सन) फिल्म घोषित भए । जसले क्रमशः एक लाख र ७५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरे । सो अवार्डहरुलाई मिला प्रोडक्सन प्रालि र नेपाल चलचित्र विकास बोर्डद्वारा प्रदान गरिएको छ । किम्फमा प्रदर्शित यसवर्षको उत्कृष्ट साहसिक पर्वतीय फिल्म जोस्ट भानको ‘ड्रोम्मेल्याण्ड’ भएको छ । उत्कृष्ट फिल्मलाई पासाङ ल्यामु शेर्पा फाउन्डेसनबाट एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

धोंडुप छिरिङको ‘आमा खान्डो’ ले सबैभन्दा बढी दर्शकको रोजाईमा परेर ‘अडियन्स अवार्ड’ जितेको थियो । मुस्ताङको परिवेशमा खिचिएको यस फिल्ममा आमा र सन्तानको मार्मिक सम्बन्धलाई प्रस्तुत गरिएको छ । फिल्मले ७५ हजार रुपैयाँको जितेको छ, जसको प्रायोजन अस्कर इन्टरन्यासनल कलेजले गरेको छ ।

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा नवविजय प्रकाश श्रेष्ठको ‘एकता’ पहिलो, भिरा फिल्म्स्को ‘अल्टर द चेन्ज’ दोस्रो र दीपक सुब्बाको ‘द रेड स्काफ’ तेस्रो भए । जसले क्रमश : ४० हजार, ३० हजार र २० हजार जिते । महोत्सवमा ‘परिवर्तित नेपाल’ छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन भएका थिए ।

किम्फको १७ औं संस्करणमा नेपाललगायत २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन भएका थिए । फिल्म हेर्ने दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षणलगायत विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगवादी फिल्महरू प्रदर्शन भएका थिए ।

‘पछाडी पारिएकाहरुको अवाज’ नारासहित आयोजना भएको महोत्सवको समापनमा स्वीस कथानक फिल्म ‘हाइडी’ प्रदर्शन गरिएको थियो । महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शनमा राखिएका थिए । महोत्सवमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना गरेको थियो । एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास दिएका थिए ।

हिमाल एसोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको किम्फ सन् २०००–२००६ सम्म दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए । सन् २००७ यता महोत्सव प्रत्येक वर्ष आयोजना गरिदैं आएको छ । किम्फका अध्यक्ष वसन्त थापाले भने, ‘महोत्सव सुरु हुँदा कहिले सकिएला जस्तो हुन्छ, सकिने बेलामा रुनु मन लाग्छ ।’

गत मंसिर २५ देखि आइतबारसम्म राजधानीको सभा गृह र नेपाल पर्यटन बोर्डमा किम्फ सञ्चालन भएको थियो । महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक थिए । ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएका थिए । नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन भएका थिए ।