जाडोमा दम र जोगिने उपाए

० डा विवेक कक्षपती

दम भनेको बारम्बार सास फेर्न गाह्रो हुने र छाती घ्यारघ्यार हुने अवस्था हो । दमको आक्रमण हुँदा, श्वास फेर्ने नलीका भित्ताहरू सुनिन्छन् जसले गर्दा फोक्सोमा रहेका हावाका नलीहरू साँघुरिन्छन् र फोक्सोले हावा लिने र फाल्ने क्रममा अवरोध आउँदछ ।

दमका रोगीहरूलाई विभिन्न कुराहरूबाट एलर्जी हुने सम्भावना हुन्छ जस्तैः धूलो, केही खाद्यवस्तुको धूलो, व्यायाम, चिसो हावा, धुवाँ, भित्तामा लगाउने रङ, चिन्ता र अन्य दम बढाउने वस्तु । कोही संवेदनशील व्यक्तिहरूलाई भाइरल संक्रमण र धूमपानले पनि लक्षणहरूलाई बढावा दिन्छ ।

दम रोगका लक्षणहरू निम्न प्रकारका छन्

० समय समयमा गम्भीर र अचानक सास फेर्न गाह्रो हुनु । छाती घ्यारघ्यार हुनु (असामान्य तरिकाले श्वास फेर्दा एक प्रकारको आवाज आउनु) ।

० कहिले खकार आउने र कहिले नआउने गरी खोकी लाग्नु ।

० दमका बिरामीहरूलाई विशेषगरी रातको समयमा गाह्रो हुने गर्दछ र त्यस्ता बिरामीहरू फोक्सोमा हावाको कमीले सास फेर्न गाह्रो भएर बिहान सबेरै उठ्ने गर्दछन् ।

० कतिपय समयमा करङको बीचको छाती कोखा हान्ने, ओठ नीलो हुने र सुस्त हुने गर्दछ ।

० यस्ता लक्षणहरू देखिएमा जति सक्दो चाँडो उपचारका लागि अस्पताल लग्नुपर्छ ।

हरेक बिरामीलाई भिन्नै किसिमको एलर्जी गराउने तत्वहरू हुन्छन् । दमको आक्रमण हुने बेलामा बाहेक अरु बेलामा बिरामी सामान्य नै हुने गर्दछ । बिरामीलाई एलर्जी हुनुको कारण कहिलेकाहीँ छाला जाँच गराएर पनि पत्ता लगाउने गरिन्छ । तर प्रायजसो कारक तत्वहरू पत्ता लगाउन गाह्रो हुन्छ । एलर्जीको कारण पत्ता लागेमा त्यो कारणबाट टाढा रहँदा दमको पुनः आक्रमणबाट बच्न सकिन्छ ।

सामान्य दम भएमा कम गर्न औषधिहरू दिइन्छ तर गम्भीर रूपमा दम भएको अवस्थामा भने पछि दमको अर्को आक्रमण हुन नदिने औषधिहरू पनि दिइन्छ ।

दम रोगको रोकथाम र व्यवस्थापन कसरी गर्न सकिन्छ ?

० तपाईं दमको रोगी हुनुहुन्छ भने, यी लक्षणहरूलाई बढावा दिने खालका कारक तत्वहरूलाई पत्ता लगाई यसबाट बच्नुहोस् ।

० आफूलाई धुँवा, धूलो, कडा गन्ध, रङ, स्प्रे र केही खाद्यवस्तुबाट टाढा राख्नुहोस् ।

० घरपालुवा जनावर जस्तैः बिरालो, कुकुर आदि नपाल्नुहोस । किनभने तिनीहरूको कपालले पनि तपाईंलाई एलर्जी हुन सक्छ र दम बढाउँछ ।

० आफू पनि धूमपान नगर्नुहोस र धूमपान गर्ने व्यक्तिको नजिक पनि नबस्नुहोस् ।

० मौसम परिवर्तन हुने समयमा आफूलाई त्यस्ता मौसमबाट बच्न विशेष ध्यान दिनुहोस् ।

० जहाँ जाँदा पनि सेवन गर्नुपर्ने औषधि साथमा बोकेर जानुहोस ।

यदि तपाईंमा देखिएका लक्षण गम्भीर छन् र औषधि सेवन गर्दा पनि नियन्त्रण नभएमा तुरुन्तै चिकित्सक कहाँ जानुहोस् ।

हेल्थ टूडे