काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आयोगले आगामी माघ ९ गते हुने निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।
आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार निर्वाचन कार्यतालिका प्रकाशन गरेको जनाएको छ । आगामी फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदैछ ।
आगामी माघ ९ गते १८ जना सांसदका लागि निर्वाचन हुन लागेको हो । एकजना भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।
आयोगले सार्वजनिक गरेको तालिका अनुसार पुस १७ गते विहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरी सोहि दिन ११ बजेदेखि ४ बजेसम्म प्रकाशित नामावली विरुद्ध उजुरी दिने र पुस १८ गते उजुरी उपर छानविन गरि अन्तिम नामावली प्रकाशन गरीने छ ।