पश्चिममा चिसो बढ्यो, विद्यालय पनि बन्द

कैलाली । बिहीबार रातीदेखि परेको मुसलधारे पानीपछि चलेको चिसो हावा र शितलहरले पश्चिम तराईमा चिसो अत्यधिक बढेको छ । पहाडी जिल्लामा हिमपातले चिसो बढेको छ भने तराईँका कैलाली, कञ्चनपुर, बाँके, बर्दियालगायतका जिल्लाहरुमा शितलहरले चिसो बढाएको छ ।

सोमबार देखिको शितलहरका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । मानिसहरुलाई दैनिकी चलाउन गाह्रो भएको छ । चोक, पसल र सडकमा मानिसहरु आगो बालेर बस्न थालेका छन् । कतिपय मानिस घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसोले दम, निमोनिया, रुघाखोकीका बिरामी बढेका छन् । बृद्धबृद्धा र बालबालिका बढी प्रभावित भएको अस्पतालले जनाएका छन् । सुदूरपश्चिमका तराईँमा ८ डिग्री सेल्सियस देखि १५ डिग्री सेल्सियससम्म तापक्रम झरेको छ ।

अत्याधिक चिसो बढेकाले बुधबार भिमदत्त नगरपालिकाकासामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गरिएका छन् । नगरपालिकाले निर्णय गरेरै विद्यालय बन्द गरेको हो । पुस ३ र ४ गते नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने विज्ञप्ति मार्फत जनाइएको छ ।