‘भैया’की दिदीः ‘कवाडीवाली’

कोमल हातपाउ । स्निग्ध अनुहार । सफा र सुकिलो पहिरन । तर चिन्नेहरूले ‘कवाडीवाली’ भनेर चिनिदिन्छन् । क्षमताका हिसाबले उनका अघिल्तिर सफा, सम्भ्रान्त र सुकिलो कामका तमामौँ अवसर नभएका होइनन्, त्यसका लागि उनी योग्य पनि छिन् । सुभतारा स्कुल सिनामंगलबाट एसएलसी पास गरेपछि रातो बंगलाबाट उनले प्लस टु पढिन् । काठमाडौं कलेज अफ म्यानेजमेन्ट पढ्दापढ्दै कलेजमै साथीहरूसँग क्यान्टिन चलाइन् । आयुसी केसीले गोर्खा बु्रअरीदेखि युएसएडमा गतिलो जागिर पनि खाइन् । जहाँ इच्छा हुँदैन, त्यहाँ उपाए देखिँदैन भने झैँ उनको उद्देश्य पनि जागिरे बनेर जीवन गुजार्ने थिएन र यीं सब छोडिदिइन् ।

नेपालको शिक्षा प्रणालीले दुईवटा कुरा मात्रै सिकाउँदो रहेछ भन्ने कुरा आयुसीले स्कुले जीवनमै बुझेकी थिइन् । ‘पहिलो पढ्ने केही सिक्ने र दोस्रो काम गर्ने’, आयुसीले भनिन्, ‘मैले पनि यही नै सिके जानेको हो । परिवारले पनि पढोस् र राम्रो जागिर गरोस भन्ने नै चाहेको थियो ।’
चलनचल्तीकै निस्चित ‘फम्र्याट’को शिक्षादिक्षा पाएपछि परिवार र समाजले सोच्ने पनि त्यही हो । उनले पनि पढ्ने, पढ्ने र जागिरका रुपमा काम गर्ने शिक्षा नै लिइन् । काठमाडौं विश्वविद्यालय अन्तर्गतको काठमाडौ कलेज अफ म्यानेजमेन्टमा आठ वर्षअघिको उनको ब्याच स्पेसल बैंकिङ्ग क्षेत्रका लागि तयार पारिएजस्तै थियो । भरखरै एकपछि अर्को बैंक स्थापना र विस्तार हुँदै थिए । म्यानेजमेन्ट मार्केटिङ्ग विषय लिएर पढ्दा जागिर पाउन सहज पनि थियो, आठ वर्षअघि ।

तर आयुसीको भित्री मनले घर, परिवार र समाजले गर्दै र स्वीकार्दै आएको जागिरे सोच स्वीकार्न मानेन । ‘मेरो उद्देश्य जागिर गर्नुपर्छ भन्ने भएन’, आयुशीले भनिन्, ‘पढ्ने केही किताबी ज्ञान लिने र जागिर गरिहाल्ने समाजकै ‘माइन्डसेट’ बनेको छ । मैले जीवनभर ज्ञान बटुल्दै जाने र त्यसको रिजल्टका रुपमा प्राप्त हुने आम्दानीबाट जीवन सञ्चालन गर्ने उद्देश्य बनाएकी थिएँ ।’

तर, यो यद्देश्य कहाँ र केमा गएर ‘फिट’ हुन्छ ? उनी आफै असमञ्जसमा थिइन् । काठमाडौंको गल्ली गल्ली हिँड्दा देखेको फोहोर, त्यसको व्यवस्थानको समस्या र विदेश घुमाइका क्रममा वातावरणका क्षेत्रमा केही गर्नपाए हुन्थ्यो भन्ने धोको उनको मनमा पलाएको थियो । आर्मी पृष्ठभूमीको माइतीपट्टी । नेपाल एअरलाइन्सका जागिरे बुवा मनोहर, सामान्य गृहिणी आमा अनु केसी, बुवाआमाजस्तै ठूलोबुवा र ठूलो आमाले पनि कहिल्यै ‘जागिरै गर’ भन्ने दबाब दिनुभएन । ‘छोरीले केही गरोस’ भन्ने भावना उनीहरूमा थियो । त्यही उत्प्रेरणा, समर्थन र साथले पनि उनको केही गर्ने हौसला झन बलियो बन्यो ।

बिवाह गरेपछि उनको सामिप्यता सासूआमासँग भयो । वर्षौँदेखि ‘विमेन फर ह्युमन राइट्स’ संस्था सञ्चालन गरेर समाजसेवामा समर्पित सासुआमा लीली थापाको जाँगर, उर्जा र आधा दशकभन्दा लामो समयदेखि ‘सस्तो डिल डटकम’ सञ्चालन गर्दै आएका श्रीमानको साथले उनी थप हौसिइन् ।

‘यो सिर्जनशिलता र सकारात्मक काम रुघाजस्तै सर्दोरहेछ’, उनले भनिन्, ‘त्यति परिपक्व उमेरमा पनि सासुआमाको समाजसेवाप्रतिको सक्रियता र उर्जा देखेर म भित्रैबाट उत्प्रेरित भएँ ।’ केही गरौँ गरौँ भइरहेकाबेला एक दिन घरमै बसेको समयमा एकजना ‘भैया’ कवाडी सामानका लागि पुकारा गर्दै बाटोमा देखिए ।

आयुसीको कानमा उनको आवज पर्यो । दिमागमा आइडियाको झिल्को बल्यो । ‘कवाडी सामान छ, आउनु’ भन्दै उनले तीं व्यक्तिलाई घरभित्र बोलाइन् । आफूसँग भएको कवाडी वा काम नलाग्ने सामान देखाउने निहुमा उनले कवाडी सामान कहाँ पाइन्छ, कसरी पाइन्छ, कति मुल्यमा संकलन गरिन्छ । कहाँ लगेर कुन मुल्यमा बेच्नुहुन्छ ? लगायतका यवात जिज्ञासा राखिन् । जानकारी लिइन् । उनी कवाडीवाला रामसागर थिए ।

अनि सुरु भयो खाली सिसी
‘रामसागर दाइलाई मैले मसँग एउटा प्लेटफर्म छ तपाईँ त्यसमा जोडिनुस, मान्छेले सामान लिन घरमै बोलाउँछन् भने’, उनले खाली सिसी डटकमको सुरुवातको दिन सम्झिइन्, ‘म घरायसी पोशाकमै थिएँ, रामसागर दाइले मलाई निकै अन्डरस्टमेटपूर्ण आँखाले हेर्नुभयो र भन्नुभयो, ‘कहाँ छ अफिस, अफिसको सरहरू खै ?’ यो उनको दोष होइन भन्ने महसुस गरेँ ।’ पुरुषवादी समाजमा महिलाले के अफिल हाँक्न सक्छ ? के नयाँ काम गर्न सक्छ भन्ने सोचको प्रतिबिम्ब थिए सामसागर दाइ । ‘फेरि म कच्चा उमेरकी थिएँ । पत्याउने कुरा पनि भएनजस्तो लाग्यो’, र उनले भनिदिइन्, ‘छ अफिस, सरहरू छन ।’ र उनलाई खालीसिसीसँग जोडिनका लागि आग्रह गरिन् । तर तीं ‘भैया’ले पत्याएनन् ।

‘मैले उनलाई निकै बेर कन्भिन्स गरेँ, कवाडीका लागि घर घर, गल्ली गल्ली चहार्नुपर्दैन, मान्छेले आफै फोन गरेर बोलाउँछन् भने’, आयुसीले सुरुवाती दिन सम्झिइन्, ‘रासागर दाइ उपहासपूर्ण ढंगले हास्नुभयो, मलाई निकैबेर दयाको नजरले नियाल्नुभयो ।’ त्यसबेला रामसागरले भनेका थिए, ‘घरघरमै, आँगन आँगननै पुगेर कवाडी सामान देउ भन्दा त दिँदैनन्, हेप्छन्, अनि बोलाइ बोलाई कसैले कवाडी दिन्छ ?’

राजधानी काठमाडौमा मात्र हरेक दिन कवाडी संकलनको रफ्तारमा करिब १३ हजार मानिस कुद्छन् । तीं सबै गल्ली गल्ली चहार्छन, बिहान पाँच, ६ बजेदेखि साँझ ६, सात बजेसम्म ठूलो ठूलो स्वरमा कुर्लन्छन् । घाँटी सुक्छ, कतिपयको त आम्दानी त के अख्रिएको घाँटी कचिलो पार्न एक बोतल पानी किनेर खाने अवस्था पनि हुँदैन ।

आयुसीलाई यिनै मानिसहरूको नेटवर्क तयार पार्नु थियो । यिनै कर्मशीलहरूको प्रयोग गरेर राजधानीको वातावरण सफा पार्नु थियो । पुनःप्रयोग हुने सामान संकलन गर्नु थियो । जसले वातावरण पनि सफा हुने र कवाडी संकलकको आम्दानी पनि बढ्ने सपना साकारा पार्नु थियो । दुःख कम, आम्दानी बढी र सम्मानको नजरले हेर्ने वातावरण सिर्जना गर्ने योजना साकार पार्नु थियो ।

अनि उनले सुरु गरिन्, खाली सिसी डट कम । संस्था दर्ता गर्न जाँदा उनले परिकल्पना गरेको प्रकृतिको कुनै उद्योग विधानमा परिकल्पना गरिएको थिएन । कम्पनी रजिष्ट्रारको कार्यालयले उनलाई कवाडी ंसंकलनको प्रमाणपत्र थियो । ‘त्यो प्रमाणपत्र घरमा देखाउनु कि नदेखाउनु भयो’, उनले सम्झिइन, ‘पछि मैले त्यही अन्तर्गत खाली सिसी डटकम स्थापना गरेँ, फेसबुक, फोन, इमेल, ह्वाट्स एप, इमोमा कवाडी संकलनको अर्डर लिन थालेँ र कवाडी संकलक दाइहरूलाई सम्बन्धित ठाउँमा पठाउन थालेँ ।’

एक महिनापछि रामसागर धेरै समयपछि तराईँमा भएको आफ्नो घर गए । उनले जाँदा भने, ‘यसपाली म सबै केटाकेटीलाई सामान लगेर जाँदैछु मेडम ।’ कारण थियो यो महिना उनको १० हजार बढी आम्दानी भएको थियो । मान्छेले आफै बोलाएर सामान दिन थालेका थिए । उनको समय बचत र आम्दानी बढी भएको थियो ।

‘सात सन्तानका बुवा रामसागर दाइ अन्य पटक घर जाँदा छोराहरूलाई मात्र सामान लगिदिँदारहेछन्’, आयुसीले भनिन्, ‘त्यसपटक आम्दानी बढेकाले उनले छोरीहरूलाई पनि लुगा र चप्पल लगिदिएका थिए ।’ त्यस दिन आयुसीको जीवनमा पहिलोपटक सन्तुष्टिको अलौकिक आनन्दानुभूति भएको थियो । ‘ओहो ! कस्तो भयंकर, अनौठो फिल भयो’, आयुसीले याद गरिन्, ‘खाली सिसी चलाउनै गाह्रो थियो, मान्छेलाई बुझाउनै मुस्किल थियो, तर रामसागर दाइको अनुभूति र अवस्थाले मलाई प्रसवपीडाबाट मुक्ति पाए झैँ अनुभूति भयो ।’

कवाडी संकलनको पहिलो पाइला उनले आफ्नै मामा घरबाट सुरु गरेकी थिइन् । अरुकोमाभन्दा आफन्तहरूको बाटै सुरु गर्न सजिलो हुन्छ भनेर उनी पहिलो दिन रामसागरलाई लिएर आफै मामा घर पुगिन् । भएको पुनः प्रयोग हुने सामान उठाउन लगाइन् । परीक्षणकाल भएकाले यो कामलाई बढो सोचेसम्झेर अगाडि बढाउनुपर्ने थियो । ‘जुन वर्गसँग म काम गर्दै थिएँ उनीहरूलाई बोलेर, सम्झाएर, पढाएर हुनेवाला थिएन’, आयुसीसले भनिन्, ‘उनीहरूलाई काम गरेर कन्भिन्स गर्नुपर्ने थियो ।’ परीक्षणकाल राम्रो भयो । महिना दिनमै रामसागरले १० हजार बढी कमाए, त्यो पनि घरपट्टीले आफै बोलाएर उठाएको सामानबाट । अनि त उनैले कवाडीवाला सुबोध, मुकेस र राजेसलाई लिएर आए ।
त्यसपछि त के खाली सिसी डटकम अर्थाल कवाडीवाली आयुसीको सञ्जाल फैलँदै गयो । ‘अफिसियल आकार दिएर व्यवस्थापन गर्नुपर्ने भयो’, उनले भनिन्, ‘मैले सासुआमामै अफिसमा सानो ठाउँ मागेँ, त्यहीँबाट औपचारिक सुरुवात गरेँ ।’

बदलियो सोच 
अफिसमा बेलाबेला आयुसीले कवाडी उठाउने दाइहरूसँग मिटिङ गर्थिन । छलफलका लागि बोलाउँथिन् । अफिसमा मिटिङका लागि कवाडी उठाउने दाइहरू आउँदा वरपरकाले ‘भैयाहरू आए’ भनेर उढाउँथे । आयुसीलाई ननिको लाग्थ्यो । विस्तार विस्तार उनको सञ्जाल दर्जन हुँदै सएमा पुग्यो । उनले परिचयपत्रको व्यवस्था गरिन् । सयबाट बढ्दै हाल तीन सयको हाराहारीमा उनीसँग कवाडी उठाउने दाइभाइहरू जडिएका छन् ।

अचेल उनीहरूलाई ‘भैया’ भन्नेहरू नै नाम पुकारेर बोलाउँछन् । रामसागर, सुवोध, मुकेस, राजेश, निकेसको पछाडि ‘जी’ लगाउँछन् । यो सुन्दा ‘कवाडीवाला’ दंग पर्छन् । आयुसी समाजको सोचमा विस्तारै आएको परिवर्तन देखेर सन्तुष्ट हुन्छिन् । ‘नर्मल’ भइसकेका कुरा निकै डरलाग्दा हुने आयुसीको ठहर छ । ‘हाम्रो समाजमा भैया भन्नु सामान्य लाग्छ, बलात्कार त अब नर्मल भइसक्यो, आत्महत्या भइरहन्छ भनिन्छ’, आयुसीले भनिन्, ‘तर सुन्ने, भोग्ने र सहनेको ठाउँबाट हेर्नुस त यो कति जटिल, भयावह र डरलाग्दो हुन्छ ।’

उनले यही ‘सामान्यीकरण’ गरिएको भैया सब्दलाई परिवर्तन गर्ने काम पनि संगसंगै गरिन् । भैयालाई नाम पुकारेर बोलाउने अवस्था सिर्जना गर्दै लगिन् । ‘एक दिन रामसागर दाइ फुरुङ्ग हुँदै आउनुभयो’, आयुसीले सम्झिइन्, ‘उनलाई कुनै ठाउँमा सर भनेछन्, मलाई पनि सर भने म्याम भन्दै खुसी व्यक्त गरे । म पनि निकै आनन्दित भएँ ।’

के गरिन्छ कवाडी
घरघरबाट पुनः प्रयोग हुने कवाडी सामान संकलन भएपछि उनीहरू त्यसलाई साना साना संकलन केन्द्रमा लगेर बेच्छन् । साना संकलन केन्द्रले कागल, बोतल, फलाम, प्लास्टिक आदि छुट्याएर फरक फरक थुप्रो बनाउँछन् । तीं सेन्टरहरूले फरक सामान फरक फरक मुल्यमा होलसेलर कवाडीमा लगेर बेच्छन् । यसरी हुने कारोबारको १५ प्रतिशत आयुसीले परिचालन शुल्कका रुपमा लिन्छिन्, त्यही रकमले उनले अफिसका स्टाफको तलब, अफिस खर्च जुटाउँछिन् ।

संस्कारको समस्या
फोहोर व्यवस्थापनमा सँस्कारकै समस्या भएको उनी देख्छिन् । एकपटक उनी अमेरिका घुम्न गइन् । शनिबारको दिन उनको जेठानीको छोरा आमान ‘आज ट्रेस डे’ भन्दै खुसीले उफ्रियो । आयुसस्स दंग परिन् । ट्रेस डे भनेको घरको फोहोर व्यवस्थापन गर्ने दिन हो रैछ । त्यस दिन आमाछोरा मिलेर उनीहरू कुहिने फोहो, पुन प्रयोग हुने फोहोर, प्लास्टिकजन्य फोहोर छुट्याएर राख्दा रहेछन् । सफाकर्ताले सोही अनुरुप लिएर जाँदा रहेछन् । त्यसो नगरिए जरिवानासम्म हुँदोरहेछ । ‘वातावरण सफा राख्न राज्यसँगै नीति छैन, मापसेको कानुन बनेपछि त कार्यान्वयन भयो नि’, आयुसीले भनिन्, ‘राज्यले चाह्यो भने फोहोर व्यवस्थापन र वातावरण सफा राख्ने पनि सँस्कार विकास गर्न सक्छ ।’ यहाँ जुनसुकै फोहोर एउटै भाँडोमा वा सडकको किनारमा थुप्रो पार्ने बानीदेखि आयुसी दिक्क छिन् । त्यही कल्चर बसाल्न पनि उनी पुनः प्रयोग हुने सामान मात्रै उठाउने गरेको बताउँछिन् । वातावरण सुन्दर बनाउने हो भने उनको सुझाव छ बच्चा उमेरदेखि नै फोहोर छुट्याएर फरक फरक भाँडोमा राख्न हरेक अभिभावकले सिकाउनुपर्छ । अनि सभ्य नागरिक बन्न सकिन्छ ।

फोब्र्समा आयुसी
३० वर्ष मुनीकै उमेरमा रचनात्मक काम गरेर समाज परिवर्तन तथा वातावरण सफाइमा सक्रिए आयुसीको मुल्यांकन अन्तर्राष्ट्रिय जगतले गरेको छ । उनलाई फोब्र्स म्यागेजिनले सन २०१८ मा ३० मुनीका ३० भित्रको सूचीमा राखेको छ । त्यस लगत्तै उनी एसिया सोसाइटीले ४० देशबाट छनौट गर्ने ‘एसिया २१ योङ्ग लिडर’मा परेकी छिन् । आगामी महिना उनी त्यो सम्मानका लागि जाँदैछिन् । उनले भनिन्, ‘रचनात्मक र सकारात्मक काम गर्न त कठिन छ, लागिरह्यो भने कतै न कतैबाट मुल्यांकन हुन्छ । यो त मेरो सुरुवाती यात्रा हो, धेरै पर पुग्नुछ ।’

युवामञ्च