चितवन राइनोज ११९ को फराकिलो रन अन्तरले विजयी

पोखरा । पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट अन्तर्गत चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई फराकिलो रन अन्तरले पराजित गरेको छ ।
चितवनको जितका लागि सुरुआती ब्याटस्म्यान रोहन मुस्ताफा र पारस खड्काले पहिलो विकेटका लागि ११७ रनको उत्कृष्ट साझेदारी गरेसँगै प्रतियोगितामा चितवनले बुटवललाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस जितेर बुटवलले चितवनलाई ब्याटिङको निम्तो दिएको थियो । टिमलाई जिताउन रोहनले ५६ बल सामना गरी ७० रन बनाउनुभयो भने पारसले ४० बलमा ६३ रन जोडेका थिए ।

त्यसैगरी चौथो क्रममा ब्याटिङमा आएका आरिफ शेखले १९ बलमा ४० रन जोडेसँगै चितवनले २०४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।

विशाल लक्ष्य पछ्याउँदै बुटवल १८ दशमलव चार ओभरमा ८४ रन जोडेर अल आउट हुन पुग्यो । बुटबलका अफ्ताबुद्दिन अहमदले दुई र अविनाश बोहोराले एक विकेट लिएका थिए । बुटवलका शिभम् सिंहले ३३ बलमा ३३ रन बनाए भने भीम सार्कीले २१ बलमा २१ तथा हरि चौहानले २० बलमा १२ रन बनाए पनि अन्य ब्याटसम्यानले दोहोरो अङ्कको रन जोडन् सकेनन् ।

चितवनका करण केसीले आफ्नो तीन दशमलव चार ओभर बलिङमा चार विकेट लिएर मात्र ११ रन खर्चिँदै उत्कृष्ट बलिङ गरेका थिए । त्यस्तै रोहन मुस्ताफाले दुई तथा सन्नी पटेल, भुवन कार्की, विक्रम सोव र विक्रम भुसालले समान एक/एक विकेट लिएका थिए ।