के प्रधानमन्‍त्रीको ट्‍विटर ह्याकर पत्ता लाग्ला ?

काठमाडौं । पछिल्‍लो समय प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्‍जालमा निकै सक्रिय छन् । उनले सामाजिक सञ्‍जाल ट्विटरको निकै प्रयोग गरेको पाइन्छ ।

प्रधानमन्‍त्री ओलीले पछिल्लो समय आफ्नो स्वास्थ्यवस्थादेखि विभिन्‍न जानकारीको अपडेट ट्विटरबाट नै गराउने गरेका छन् । तर, प्रधानमन्‍त्री ओलीको आधिकारिक ट्वीटर ह्यान्डल ह्याक हुन पुगेको छ ।

शुक्रबार राति प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलबाट भारतको विपक्षी दल कांग्रेस आईकी नेतृ सोनिया गान्धीकोको ट्वीट रिट्वीट भएको छ । यसरी प्रधानमन्‍त्रीको ट्विटरबाट गान्धीको ट्विट रिट्वीट भएपछि शनिबार बिहानैबाट सामाजिक सञ्जाल तातेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटर मार्फत नै कसैले प्रधानमन्त्रीको पासवर्ड दुरुपयोग गरेको जानकारी गराएका छन् । उनले कसैले प्रधानमन्‍त्रीको ट्विटर ह्याक गरेको र अहिले त्यो रिकभर भइसकेको समेत बताए । उनले उनैका अनुसार ह्याक भएको पासवर्ड रिकभरसमेत भइसकेको छ।

थापाले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्युको ट्विटर @PM_Nepal बाट अन्यथा रिट्वीट भएको देखिन आएको छ । पासवर्डको दुरूपयोग गरि यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको छ । तसर्थ : कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न अनुरोध गर्दछु ।’

 

अहिले सामाजिक सञ्‍जालमा यस विषयले निकै चर्चा पाएसँगै कतिपयले प्रधानमन्त्रीका निकट व्यक्तिहरूले ट्विटरको दूरुपयोग गरेको आशंका गरेका छन् ।

कुनै पनि देशका कार्यकारी प्रमुखको पास्वर्ड चोरी भएर अनिधिकिरित रुपमा प्रयोग हुनु भनेको गम्भीर विषय हो । यसमा सरकारले गम्भीर अनुसन्धान गरेर सत्यतथ्य छानविन गर्नुपर्छ । सरकारले छानविन मात्र होइन पासवर्ड दुरुपयोग गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।

प्रधानमन्‍त्री ओली आलोचना मन नपराउने मान्छे हुन् । अहिले छिमेकी मुलुक भारतमा नागरिकताको विषयलाई लिएर कडा आन्दोलन चलिरहेको छ । सोही विषयमा भारतकी प्रमुख प्रतिपक्षी दलकी नेताले गरेको ट्विट ओलीको ट्विटर ह्यान्डिलबाट रिट्वीट हुनु निकै गम्भीर विषय हो ।

सामाजिक सञ्जालमा सामान्य भन्दा सामान्य गल्ती गरेका व्यक्ति भटाभट पक्राउ गर्ने सरकारले यस्तो गम्भीर खालको गल्ती गर्ने अपराधिलाई उन्मुक्ति दिनु हुँदैन ।