सहरमा सिस्नो चिनाउँदै बिन्ती

दूर गाउँमा आज पनि सिस्नो ‘गरीबको खान्की’का रुपमा चिनिन्छ । फापर, कोदो र मार्सी सहर पसिसके । तर समयक्रमले बहुउपयोगी र बहुगुणी भनेर स्थापित गर्न सकेको छैन सिस्नोलाई ।

अविकसित र विकट गाउँका विपन्नहरुले ‘छाक टार्न’ परापूर्व कालदेखि खाँदै आएको सिस्नोलाई सहरियाको परिकारका रुपमा स्थापित गर्न चाहन्छिन् बिन्ती गुरुङ । पुख्र्यौली घर लमजुङ भए पनि कहिल्यै सिस्नो घारी नदेखेकी उनी सिस्नोको महत्व र पहिचान स्थापित गर्न विदेशबाट फर्किएरै लागेकी हुन् ।

व्यक्तिगत रुपमा तमाम सम्भावना र अवसरलाई इन्कार गर्दै उनी सिस्नो चिनाउने अभियानमा जुटेकी छिन् । यो अभियानमा लाग्ने प्रेरणा भने उनलाई अध्ययनका क्रममा न्यूजिल्याण्डमा रहँदा मिलेको हो । नेपालमै केही गर्नुपर्छ भन्ने थप उर्जा उनलाई युकेमा खानाको कल्चर देख्दा मिल्यो ।

‘म न्यूजिल्याण्डमा रहँदा खानाको ट्रेन्ड हेरेँ,’ उनले भनिन्, ‘पछि यूके जाँदा त्यहाँका मानिसहरु ब्याक टु नेचर अभियानमा रहेछन् ।’ उनीहरु जंगल गएर आफै टिपेर ल्याएको साग, तरकारी र फलफूल खान थालेको कुराले विन्तीलाई भित्रैदेखि छोयो । भनिन्,‘हाम्रो त भएको कल्चर पनि मासियो, पहिला पहिला हाम्रा पुर्खाहरु जंगलबाट घेरैथरी सागसब्जी टिपेर खान्छे, अहिले त्यो छैन । रेडिमेट र प्याकिङ्गतिर हाम्रो ध्यान केन्द्रित भएको छ ।’

आफ्ना पुर्खाहरुले खाएको, गरेको तौरतरिका निकै बैज्ञानिक र अग्र्यानिक हो भन्ने लागेपछि विन्तीलाई लाग्यो– यो त बचाउनुपर्छ । अनि उनले स्थापना गरिन ‘नेचुरल रुट्स कम्पनी’ । जुन कम्पनीले सिस्नोको कुकिज, सिस्नोको बिस्कुट सिस्नोको ब्रेड, सिस्नोको पाउडर, फापर र कोदोको बिस्कुट, कुकिज, ब्रेड र केक बनाउँदै आएको छ ।

आफ्ना पूर्वजको मौलिक खाना मात्रै नभएर सिस्नो, फापर र कोदोको गुणबारे पनि उनले निकै अध्ययन गरिन् । ‘करिब तीन वर्ष त अध्ययन मै गयो,’ उनले भनिन्, ‘सिस्नो, फापर राम्रो हो भनेर मात्रै भएन यसमा कुन तत्व कति हुन्छ भन्ने पनि त स्पस्ट पारिदिनुपर्यो नि ।’ सिस्नोको विभिन्न परिकार ‘राम्रो चिज हो’ भन्दै यसअघि पनि बजारमा नआएको होइन् । विन्तीले यसमा के राम्रो हो ? कुन तत्व कति छ र के फाइदा गर्छ भन्ने कुरा अनुसन्धानमा समय र पैसा लगानी गरिन् । अहिले उनका उत्पादनहरुमा यसको गुण, दोष, महत्व र इतिहास सहितको प्रमाणित लेबल देख्न सकिन्छ ।

हुन त सिस्नोको महत्व इतिहासमा पनि देख्न सकिन्छ । ११ औँ शताब्दिमा तिब्बतका मिलारापा नामका साधुले सिस्नो खाएरै सिद्धी प्राप्त गरेको विषय विभिन्न पुस्तकहरुमा उद्धृत भएको पाइन्छ । यद्यपि नेपाली समाजमा सिस्नोलाई गरिबको खाना भनेर दुर्गममै छोडियो । शहर पसाइएन । विन्तीले भनिन्, ‘सिस्नो त के अहिलेको शहरिया पुस्ताले त चामल, दूध, दाल र घ्यू पनि मेसिनबाट निस्कन्छ भन्ने ठान्न थालेको छ ।’

हो यही मान्नेतालाई स्थापित हुन नदिन उनले मौलिक र टिपिकल नेपाली परिकारमध्येको एक सिस्नोलाई अन्तर्राष्ट्रि बजारसम्म फैलाउन नेचुरल रुट्स कम्पनी स्थापना गरेको सुनाइन् । ‘हुन त यो एक्लै गरेर हुने कुरा होइन,’ उनले भनिन्, ‘यहाँ कम्पनी स्थापना गर्न, सञ्चालन गर्न, यसको गुणवत्ता पत्ता लगाउनै महाभारत रहेछ तर मेरो सोच सिस्नोलाई स्थापित गर्ने हो ।’ उनले कम्पनी स्थापना गर्दाको दुःख सम्झिइन् । आफ्नो कम्पनी सानो भए पनि उनले ठूलो कम्पनीकै मापदण्ड पुरा गरेर दर्ता, सञ्चालन र नविकरण गर्नुपरेकोमा भने असन्तुष्टि व्यक्त गरिन । कम्पनीका पनि चरित्र हुन्छन्, कोही नाफामूलक होलान, कोही सेवामूलक त कोही पहिचान मूलक’, उनले भनिन्, ‘सबैलाई एउटै डोकोमा हालेर व्यवहार गर्न हुँदैन ।’

सिस्नो स्थापित गर्ने लक्षमा उनल सफलता प्राप्त गर्दै गएकी छिन् । उनको सिस्नोको पाउडरबाट बजारमा मःमः, बिस्कुट, सुपसम्म बन्न थालेको छ । काठमाडौंको ठमेलमा रहेको लभिङ हार्ट रेस्टुरेन्टले सिस्नोको मःमः र सुप पस्कन थालेको उनले बताइन् । त्यस्तै पाटनमा रहेको नानाज् डिलाईटले सिस्नोको बिस्कुट तयार गर्न थालेको छ । लाजिम्पाटमा ‘कोचिना मिठो छ’ रेष्टुरेन्टले सिस्नोको सुप बेच्न थालेको र चाला मण्डला पाटनमा सिस्नोको मःमः पाइन थालेको उनले जानकारी दिइन् ।

अहिले उनी उत्पादन बढाउन र गुणस्तर कायम राख्न विभिन्न जिल्लाका कृषकसम्म आफै पुग्ने गरेकी छिन् । कम्पनीलाई चाहिने सिस्नोको गुणस्तर खस्कन नदिन विभिन्न तौरतरिका सिकाउन उनी कैलाली, लुम्बीनी, चितवन पुगेको सुनाउँछिन् । न्यूजिल्याण्डबाट फर्केपछि उनले

नेपाल जडिबुटी संघमा लामो समय काम गरिन् । त्यहाँ रहँदा उनको सम्बन्ध हुम्ला, डोल्पा, मुगु, ओखलढंगालगायतका किसानसँग जोडियो । ‘त्यो सम्बन्ध अहिले निकै उपयोगी भएको छ,’ उनले भिनन्, ‘उहाँहरुले मलाई सिस्नो, फापरलगाय चाहिने कच्चा पदार्थ उपलब्ध गराउनुहुन्छ ।’ उनको चाहना छ, देशको निर्यात बढाउन यसलाई राष्ट्रिय अभियान नै बनाउनुपर्छ, यो एक्लै गरेर हुँदैन ।

किन सिस्नो महत्वपूर्ण छ ? जिज्ञासा स्वभाविक हो । विदेशमा खानामा पनि प्राकृतिक र नेचुरल खानाका बारेमा पढाइ हुन थालेको उनले देखेर आएकी छिन् । विदेशीले नेपालमा आउँदा सिस्नो चिन्ने अवस्था छ तर नेपालीले नै बिर्सेको अवस्था उनले बुझेकी छिन् ।

‘सिस्नो चिनाउनुपर्ने कुरा मात्रै होइन,’ विन्तीले भनिन्, ‘यसमाजस्तो एन्टी अक्सिडेन्ट अरुमा हुँदैन, यो सुगरका बिरामीले खाँदा फाइदा हुने परिकार मात्र होइन, जोर्नीको समस्यामा यो निकै हितकर छ, बाथ रोगीका लागि फाइदाजनक छ, चिसोयाममा यसको सुप निकै लाभकारी छ, यत्ति मात्र हो कि यसलाई गर्मीसमयमा भने धेरै खानु हुँदैन ।’

न्यूजिल्याण्डबाट इतिहास विषयमा मास्टर्स गरेकी विन्तीले गोर्खाली फौँज सिन्धुलीगढीमा आएर लड्दाको इतिहास कोट्याइन् । ‘त्यसबेला गोर्खाली फौँजले बोकेको राशनपानी सकियो, उनीहरुले यही सिस्नो खाएर बिरताकासाथ लडेका थिए,’ उनले भिनन्, ‘अहिले सिस्नो बेच्ने धेरै होलान्, तर हामीले यसको महत्व पनि विस्तार गर्न खोजेका हौँ ।’

उनले न्यूजिल्याण्डमा अध्ययन सकिएपछि त्यहाँको राजधानी बेलिङटनस्थित पुरातत्व विभागमा जागिर पाइन । ‘पैसा, पद र सुविधा राम्रै थियो,’ उनले भनिन्, ‘तर त्यहाँको समाज पनि प्राकृतिक र परम्परागत कुरामा निकै सचेत देखेँ, नेपालको इतिहास परम्परासँग पनि धेरै चिज जोडिएका छन् भन्ने लाग्यो, अनि सिस्नोको प्रवद्र्धनमा लागेकी हुँ ।’

उनका बुवा रिटायर्ड लाहुरे । आमा कृष्णकुमारी गृहिणी र पनि छोरीको यो अभियानमा उनीहरु सहयात्रामा छन् । ‘उहाँहरुको साथ र हौसला छ,’ उनले भनिन्, ‘बुवाआमाले नै देशमा केही गरेर देखाउनुपर्छ भनेर म यो सब संघर्ष गरिरहेकी छु । फास्टट्रयाकको जमानामा मौलिक खाना स्थापित गर्ने अभियानमा हेरौँ कति सफलता मिल्छ ।’

युवामञ्च