काठमाडौंमा चिसो निकै बढ्योः विहानको तापक्रम १ डिग्री

काठमाडौं । विहीबार धेरैले अन्य दिनभन्दा बढी चिसो महसुस गरे । हुन पनि विहीबार बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज विहान ५ः४५ मा गरेको मापनले काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झरेको देखाएको छ । जुन काठमाडौंमा यो वर्षकै कम हो ।

बुधबार बिहान काठमाडौंको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । जुम्लामा भने विहीबार विहानको तापक्रम माइनस ६ दशमलव ४ डिग्रीमा झरेको थियो । चिसोका कारण मानिसहरु घरदेखि बाहिर निस्कनै सकेका छैनन् ।

पुस १ गते जुम्लाको तापक्रम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन वर्षकै कम हो । विहीबार डडेलधुराको तापक्रम २ डिग्री, वीरेन्द्रनगरको २ दशमलव ७, ओखलढुङ्गाको ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

तराईका जिल्लाहरुमा शीतलहर चलिरहेको छ । जसका कारण बुधबार काठमाडौं धनगढी उडान रद्द भएका थिए ।