मानसरोवर लैजाने नाममा श्रेष्ठले भारतीय नागरिकबाट करोड बढी ठगी गरेको दावी    

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित शिवम ग्रुप होलिडेज प्रालीका सञ्चालक भोजपुर स्थायी घर भएका रामचन्द्र श्रेष्ठले भारतीय नागरिकसँग मानसरोवर तीर्थ यात्रामा लैजाने भन्दै करिब पौने दुई करोड ठगी गरेको खुलासा भएको छ ।

श्रेष्ठले भारतीय ट्राभल व्यवसायी विवेक बिश्नोईलाई माध्यम बनाएर सन् २०१८ र २०१९ मा गरी एक करोड ११ लाख ६९ हजार आठ सय ५५ रुपैयाँ ठगी गरेको बताइएको छ । बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै बिस्नोईले यस्तो आरोप लगाएका हुन् ।

उनकाअनुसार सन् २०१८ मा ३३ जना भातरीय तथा गैरआवासीय भारतीय तीर्थयात्रीलाई तिब्बतको हिल्सामा सात दिनसम्म अलपत्र पारेपछि प्याकेजको रकमभन्दा बाहेक आपतकालीन भन्दै २६ लाख भारतीय रकम रामचन्द्रलाई बुझाईएको थियो ।

बिश्नोइले भने, ‘सुरुमा रामचन्द्रले २६ लाख भारु ठगी गरे । सन् २०१९ को अगष्टमा ५६ यात्रीबाट उठाईएको ८५ लाख भारतीय रुपैयाँ ठगी गरे । सन उनले हामीसँग कुल एक करोड ११ लाख ६९ हजार ८ सय ५५  भारतीय रकम ठगेका हुन् ।’

श्रेष्ठले गरेको उक्त ठगीको बारेमा नेपालका सम्बन्धित निकायमा जानकारी गराएको उनले जनाए । थपे, ‘तर, कुनै पनि निकायबाट हामीलाई न्याय मिलेन । रामचन्द्रसँग मैले पूरा बैंकिङ कारोबार गरेको थिएँ । आवश्यक रकम पनि मैले उनलाई बैंकमार्फत नै ट्रान्सफर गरेको थिएँ । यसबारे सम्पूर्ण प्रमाण मसँग सुरक्षित छन् ।’

सन् २०१९ मा मानसरोवर जान नपाएका ५६ जना तिर्थ यात्रीले अहिले आफ्ना विरुद्ध ठगी मुद्दा (एफआईआर) दर्ता गराएको पनि बिश्नोईले जानकारी दिए । उनले भने, ‘रामचन्द्र श्रेष्ठको ठगी धन्दाको असरले मेरो सम्पूर्ण व्यापार तथा व्यवसाय नै ठप्प भएको छ । मेरो सामाजिक प्रतिष्ठामा समेत आँच आएको छ ।’ नेपाल सरकारले श्रेष्ठलाई कडाभन्दा कडा कारबाही गरी ठगेको रकम तुरुन्त फिर्ता गराउन पहल गरिदिनुपर्ने उनको माग छ ।