सोमालियाको राजधानीमा भएको कारबम विष्फोटमा ७३ को मृत्यु, ५० घाइते

एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा कारबम विष्फोट हुँदा ७३ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन् । आज बिहान सुरक्षा चौकी नजिकै भएको विष्फोटमा ७३ जनाको मृत्यु भएको मदिना अस्पतालका निर्देशक मोहम्मद यूसुफले पुष्टि गरेको स्थानीय समाचार माध्यमले जनाएका छन् ।

यो हमला मोगादिसुमा शनिबार बिहान ठूलो भीडभाड हुने क्षेत्रमा भएको हो । हमला हालै भएका हमलामध्येमा ठूलो भएको बताइएको छ । सरकारका प्रवक्ता इस्माइल मुख्तारले कयौं गम्भीर घाइते भएकाले मृतकको संख्या अझै बढ्नसक्ने बताएका छन् ।

विष्फोटमा मारिनेमा अधिकांश विश्वविद्यालयका विद्यार्थी भएको बताइएको छ । मृतकमध्ये दुई तुर्क नागरिक पनि भएको बताइएको छ ।

घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । अलकायदासँग सम्बन्धित आतंककारी संगठन अल शबाबले यस्तो हमला गराउने भएकाले उसैले हमला गराएको हुनसक्ने सरकारको आशंका छ ।