अब फेसबुमा जिस्क्याए, गाली गरे वा भ्रमित बनाए १५ लाख जरिवाना, पाँच वर्ष जेल

काठमाडौं । सामाजिक सञ्जालम जे पायो त्यही लेख्ने, म्यासेज गर्ने र अफवाह फैलाउनेका लागि आइतबार कडा विधेयक पारित भएको छ। संसदको विकास तथा प्रविधि समितिले लामो समयदेखि छलफलमा ल्याएको सूचना तथा प्रविधि विधेयक आइतबार पारित भएको हो ।

विधेयक अनुसार माजिक सञ्जालबाट जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहीत गर्ने, धम्क्याउने, घृणा तथा द्वेष उत्पन्न गराउने र भ्रमित पार्ने आशयले सन्देश सम्प्रेषण गर्नेलाई १५ लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्मको कैद सजाय हुने व्यवस्था गरिएको छ । नेपाली समाज अझ ग्रामीण जनजीवनमा भरखर भरखर सामाजिक सञ्जालको प्रयोग पुगिरहेका बेला प्रयोगकर्ताहरुका लागि यो निकै महंगो बन्ने देखिएको छ ।

पारित विधेयक संसदको पूर्ण वैठकबाट जस्ताको त्यस्तै स्वीकृत भए कानूनको रुप लिनेछ । विद्युतीय प्रणालीको प्रयोग गरी कसैलाई यौनजन्य दुर्व्यवहार गरे वा त्यसका लागि कसैलाई अनुचित प्रलोभनमा पार्ने वा धम्की दिने कार्य गरेमा दुई लाख रुपैयाँ जरिवाना र तीन वर्षसम्मको कैद सजाय हुने व्यवस्था गरिएको छ ।

विद्युतीय प्रणाली प्रयोग गरी नेपालको सार्वभौमिकता, अण्डता, राष्ट्रियता र एकतालाई खलबल्याउने तथा विभिन्न धार्मिक तथा जातीय वर्गबीच साम्प्रदायिक तथा द्वेष, घृणा फैलाउने व्यक्तिलाई पाँच वर्षको सजाय र १५ लाख जरिवाना गरि विधेयक संसोधन गरिएको छ ।

साथै पारित विधेयक अनुसार विद्युतीय प्रणालीमा रहेको सूचनालाई अनाधिकृत रुपमा प्राप्त गर्ने, परिवर्तन गर्ने, मेटाउने वा निष्क्रिय पार्ने उद्देश्यले दुराशययुक्त प्रोग्राम सम्प्रेषण गर्ने वा सञ्चालन गर्नेलाई पनि तीन लाख रुपैयाँ जरिवाना तथा तीन वर्षसम्मको कैद सजाय हुने व्यवस्था विधेयकमा गरिएको छ ।

यस्तै साइबर बुलिङ गर्ने व्यक्तिलाई यस अघि प्रस्तावित दश लाख जरिवाना र पाँच वर्षको कैद सजायलाई घटाएर ५० हजार जरिवाना र छ महिनासम्मको कैद सजाय राखिएको छ ।