साल्ट ट्रेडिङ्गलाई उचाइँमा पुर्याउने व्यक्तित्व

जो आज पनि स्मरणीय छन्

अक्षरपाटी विशेष

नेपालको प्रशासनिक क्षेत्र बेलाबखत आलोचित र बदनाम हुने गर्छ । मुलुकको राजनीतिलाई समेत प्रभावमा पार्ने र अनियमितता फैलाउन कर्मचारीतन्त्रको मुख्य भुमिका छ भन्ने आरोप पनि यो क्षेत्रले खेप्दै आएको छ । तर नेपालको प्रशासनिक क्षेत्रमा केही यस्ता नाम पनि छन्, जो मृत्युपर्यन्त पनि सम्मानित र सम्झनलायक छन् ।

त्यस्तैमध्येको एउटा नाम हो हेमबहादुर मल्ल । जन्मका हिसाबले विक्रस सम्बत १९९५ साउन २ गते धौलागिरी अञ्चलको बाग्लुङ जिल्ला हार्पे १ निसिभुजीमा जन्मिएका हुन् मल्ल । प्रशासनिक क्षेत्रमा बसेर देशको इमान्दारितापूर्वक सेवा गरेका मल्लको निधन हृदयघातका कारण विक्रम सम्वत २०५७ कात्तिकमा भारतको नयाँ दिल्लीमा भयो ।

किन मल्ल मृत्युपर्यन्त पनि सम्मानित र सम्झनलायक छन् त ? आजको साल्ट ट्रेडिङ्ग जहाँ र जुन उचाइमा छ, त्यो मल्लकै देन र योगदानको उपज हो भन्दा अभिसयोक्ति नहोला । २०२० सालमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा म्यानेजरको रुपमा प्रवेश गरेर मल्लले यसको श्रीवृद्धि र संस्थागत विकासमा अहोरात्र आफूलाई समर्पित गरे । उनैको सक्रियता, सेवा र संस्थाप्रतिको समर्पणभावले संस्था आजको उचाइमा पुगेको हो ।

मल्लले जहिले पनि परिवारलाई भन्दा संस्थालाई उच्च महत्व दिएकै कारण देशभरका जनताले नुन मात्र होइन आयोडिनयुक्त नुन खान पाएको जानकारहरु बताउँछन् । उनकै सक्रियता र चिन्ताले कर्पोरेशनले जनताका लागि अत्यावश्यक वस्तुहरुको आपूर्ति गर्न सुरु गरेको थियो । औद्योगिकरणको सुरुवात गर्दै कर्पोरेशनले नून, चिनी, मैदा, पिठो, सुजी, तेल, वनस्पती घ्यु, चामल, दाल, गहुँ, गेडागुडी, सिमेन्ट, कागज, रासायनिक मल, गोरखकाली रबर उद्योग सञ्चालन गर्यो । मोरङ सुरगर मिल, मेट्रो काठमाडौं ग्यास उद्योग सञ्चालन गर्यो । मल्लकै सक्रियता र चिन्ताले आज देशका ९० प्रतिशत जनताले आयोडिनयुक्त नून खान पाइरहेको कर्पोरेशनले जनाएको छ ।

मल्लको योगदानको कदर गर्दै उनको सम्मान र सम्झनामा कर्पोरेशनले २०५९ सालमा ‘हेमबहादुर मल्ल सम्मान’ पुरस्कार स्थापना गर्यो । जुन पुरस्कार आजपर्यन्त विभिन्न योग्य र कुशल व्यक्तिलाई प्रदान गरिँदै आएको छ । उचित समयमा उचित निर्णय लिन सिपालु मल्लले आफ्नो कार्यकालमा निर्धारित नीतिभित्र रहेर योजना कार्यान्वयन गर्ने, दण्ड र पुरस्कार दिने प्रणालीको विकास गरे । कुशल प्रशासकीय कौशलताका कारण मल्ल २४ वर्षसम्म निरन्तर कर्पोरेशनको महाप्रबन्धक भएर जिम्मेवारी निभाए । त्यति मात्र नभएर अरु थप १३ वर्ष उनले कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रेसिडेन्टको भूमिका निभाए ।

समाजसेवी मल्ल
उनी कुशल प्रसाशक मात्र नभएर उत्कृष्ठ समाजसेवी पनि थिए । उनकै सक्रियतामा बालहितकारी पुरस्कार स्थापना गरियो । पाणिनी पुरस्कार, चिकित्साशास्त्र पढ्ने विद्यार्थीलाई छात्रवृत्ति, कृषिविज्ञान पढ्नेलाई छात्रवृत्ति, अस्पताललाई एम्बुलेन्स दिनेजस्ता काम गरे । व्यापारिक संस्थाको काम कमाउने मात्र होइन, केही अंश सामाजिक काममा लगाउनुपर्छ भन्ने धारणा उनको थियो । राल्ट ट्रेडिङ्गको केन्द्रीय कार्यालयलगायत देशका अञ्चलस्तरीय कार्यालयमा उनैले नेपाल माताको मन्दिर निर्माण गर्न लगाएका थिए । अरुको पीरमर्कालाई आफ्नैजस्तो सम्झेर सक्दो सहयोग गर्ने मन मल्लमा थियो ।

व्यवसायिक कुशलता, सहनशीलता, मृदुभाषी व्यक्तित्व उनको थियो । सँधै सत्यता र इमान्दारितामा विश्वास गर्ने मल्लले खाद्य, तेल, ग्यास, रबरको उद्योग सञ्चालनमा ल्याए पनि मुनाफामूलक भए पनि जनताको स्वास्थ्यमा असर गर्ने भन्दै मद्यपान, धुम्रपान र सुर्तीजन्य उद्योग सञ्चालन हुन दिएनन् । त्यसैले उनको दूरदृष्टि, इमान्दारिता, सक्रियता, सफलता र प्रशासनिक कुशलताको सम्मान गर्दै कर्पोरेशनले उनैको नाममा पुरस्कार स्थापना गरेर उनको पथ पच्छ्याउनेलाई सम्मान गर्न थाल्यो ।

सम्मानित हुनेहरु
२०६० मात्रिविका उपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमालाई दिएर पुरस्कारको सुरुवात गरिए यता यो पुरस्कार तत्कालीन महिला विकास विभागकी महानिर्देशक चाँदनी जोशी, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, वरिष्ठ प्रशासनविद् डा विमल कोइराला, वैज्ञानिक तथा समाजसेवी महावीर पुन, पर्यटन व्यवसायी आम्बिका श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व सभामुख दमननाथ ढुंगाना, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्मा, पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी, सूर्व सचिव तथा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली हुँदै २०७१ मा मल्लको नामको पुरस्कार पूर्व मुख्य सचिव दामोदर गौतम र ०७२ मा पूर्व अर्थमन्त्री डा देवेन्द्रराज पाण्डेलाई प्रदान गरिसकिएको छ ।

यसपटक घिसिङ्ग र रुईत सम्मानित
यस वर्ष शुक्रबार मात्रै २०७३ सालको हेमबहादुर मल्ल सम्मानद्वारा नेपालमा लामो समयदेखि भोग्दै आएको लोडसेडिङको समस्या समाधान गर्ने कुशल प्रशासक विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र २०७४ को सम्मान आँखा उपचारमा अतुलनीय योगदान पुर्याउँदै आएका विशेषज्ञ डाक्टर सन्दुक रुईतलाई प्रदान गरिएको छ ।
सम्मान प्रदान गर्नका लागि कुशल प्रशासक कृष्णहरी बास्कोटाको संयोजकत्वमा उच्चस्तरीय छनौट समिति बनाइएको थियो । संयोजक बास्कोटाले ३७ वर्ष कर्पोरेशनको सेवा गरेका मल्ल इमान्दार, परिश्रमी, कर्तव्यनिष्ट, शिष्ट, नरम एवं हकी स्वभावको भएको बताए । उनको नाममा स्थापना गरिएको पुरस्कार सम्मान र सम्झना भएको बताए । दुई लाख राशीको यो पुरस्कार उनको जस्तै कर्मका लागि अभिप्रेरणा भएको बास्कोटाले बताए ।