अंग्रेजी नयाँ वर्षसँगै सुरु भयो नेपाल भ्रमण वर्ष २०२०

काठमाडौं । अंग्रेजी नयाँ वर्षसँगै नेपाल भ्रमण वर्ष–२०२० आजबाट सुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

सोही समयमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले पनि भ्रमण वर्षको शुभारम्भ गर्ने छन् । राष्ट्रपतिबाट भ्रमण वर्षको औपचारिक शुभारम्भ भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य गर्ने छन् ।

२० लाख बाह्य पर्यटक भित्याउने महत्वकांक्षी लक्ष्यसहित शुरू भएको यो अभियानको शुभारम्भ कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकका पर्यटनमन्त्री तथा अन्य प्रतिनिधिहरू काठमाडौं पुगिसकेका छन् ।

सरकारले आज सबै नेपालीलाई घर–घरमा दिपावली गरेर भ्रमण वर्षको शुभारम्भ गर्न तथा सरकारी कार्यालयहरूमा दुई दिनसम्म दिपावली गर्न आह्वान गरेको छ ।