यस्ता छन् २० लाख पर्यटक भित्र्याउन हुने चुनौति

काठमाडौं । नेपाल सरकारले तामझामका साथ ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक रुपमा सुरुआत गरिसकेको छ । सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको सुरुआत गरेको हो ।

गत बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारि राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा एक समारोहकाबीच भ्रमण वर्षको भव्य रुपमा शुभारम्भ गरिन् । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको सुरुआत गरे पनि उक्त लक्ष्य भेटाउन निकै चुनौति छ ।

गत वर्ष सन् २०१९ को नोभेम्बरसम्म नेपालमा १० लाख ९७ हजार ५ सय ७१ विदेशी पर्यटक आएको तथ्याङ्‍क पर्यटन विभागसँग छ । डिसेम्बरको संख्या भने सार्वजनिक गरिएको छैन । यसरी हेर्दा गत वर्षभन्दा यस वर्ष नेपालमा झन्डै दुई गुना वर्यटकको संख्यामा वृद्धि हुनुपर्ने देखिन्छ ।

तर, विभिन्‍न कारणले सरकारसामु उक्त संख्यामा पर्यटक भित्र्याउन ठूलो चुनौति छ । २०७२ सालमा आएको विनासकारी भूकम्पले तहसनहस भएका सम्पदाको पुनर्निर्माण हुन नसक्नु, आकर्षक गन्तव्यको उपयुक्त प्रचार हुन नसक्नु लगायत कारणले पनि पर्यटक लक्ष्य अनुरुप भित्र्याउन चुनौति छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रि विमानस्थल, पोखरा स्थित क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल १ वर्षअघि नै सञ्चालन हुने भनिए पनि हालसम्म बन्न नसक्नुले काठमाडौंबाट मात्रै सबै स्थानमा जानुपर्ने बाध्यता भएकाले भ्रमण खर्चिलो हुने पनि देखिएको छ । सडक यात्रासमेत जोखिमपूर्ण छ । यसको सुधारमा पनि सरकारले बेलैमा ध्यान दिनुपर्थो ।

राजधानी नजिकैका पर्यटकीय स्थल नगरकोट, दोलखा, पोखरा, लुम्बिनी तथा चितवन जाने सडकमार्ग समेत बन्न सकेका छैनन् । जसले सडक यात्रा गर्दा पर्यटकले सास्ती खेप्नुपर्छ ।

पर्यटकहरू प्याकेजमा घुम्न आउन चाहन्छन् । सरकारसँग त्यस्ता आकर्षक प्याकेज पनि कुनै छैनन् । देशभरका पर्यटकीय गन्तव्यलाई प्याकेजमा राख्न सकेमा स्वदेशी र विदेशी पर्यटकको रुचि बढ्नेमा दुई मत छैन । जसले सरकारको लक्ष्य सहज रुपमा भेटाउन मदत गर्थ्यो ।

नेपाल प्रचुर मात्रामा पर्यटकीय सम्भावाना बोकेको देश हो । यहाँ प्रकृतिका मनोरम छट्टा छन् । जुन पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।

सरकारले यसअघि पर्यटीय गन्तव्यका रुपमा देशभरका सय वटा स्थानलाई घोषणा गरिसकेको छ । ति स्थानको उपयुक्त प्रचार हुन सके पर्यटक अवश्य नै आउलान । तर, ति क्षेत्रको प्रचार हुन सकेन र प्रर्यटक मैत्री वातावरण हुन सकेन भने जे सुकै वर्ष घोषणा गरे पनि पर्यटकको संख्यामा अपेक्षा अनुरुप वृद्धि हुने छैन ।