भ्रमण वर्षमा घुम्न जाउँ परशुराम

डडेल्धुरा । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’का अवसरमा परशुराम नगरपालिकाले ‘घुम्न जाऔं परशुराम’ योजना अघि सारको छ । भ्रमण वर्षको अवसरमा ‘ अरु ठाउँ बारम्बार, परशुरामधाम एकबार’ भन्दै परशुराम धाम एक पटक गएमा पुण्य कमाईने परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउदले बताए ।

सुदुरपश्चिमकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल परशुराम धामबाट नेपाल भ्रमण वर्ष २०२० ‘घुम्न जाउँ परशुराम’को नगरपालिका प्रमुख साउद र परशुराम क्षेत्र विकास समितिको संयुक्त आयोजनामा तथा स्थानीय विभिन्न संघ सस्थाको सहजीकरणमा उद्घाटन गरिएको हो ।

गत वर्ष नगरपालिकाले परशुराममा धार्मिक महोत्वसव आयोजना गरेको थियो । उद्घाटनका क्रममा नगर प्रमुख साउदले पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक सम्पदाका रुपमा परशुराम धाम रहेको बताए । उनले महाकाली नदिमा ब्यापारिक नाका संचालन गर्न सके नगरसंगै भित्रीमधेश र सुदूरपश्चिमको ब्यापार ब्यवसायमा ठूलो परिवर्तन हुने बताए ।

उनले भारतको उत्तराखण्डसँग निकट सम्वन्ध कायम हुने र त्यसले यहाँको व्यापार व्यवसाय र निर्यात तथा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने धारणा रखो । नगर प्रमुख साउदले नगरका अन्य पर्यटकीय स्थल कामधेनु गुफा, बोडाताल, शैलेश पर्बतलगायतका ओझेलमा परेका सम्पदाहरुको संरक्षण सम्वर्धनमा व्यक्तिगत रुपमा र नगरपालिका लागिपरेको बताए ।

परशुराम धाम यस क्षेत्रको पबित्र तिर्थस्थल रहेको स्कन्दपुराणमा उल्लेख भएको स्मरण गराउँदै मेयर साउँदले घुम्न जाउँ परशुराम कार्यक्रम ल्याइएको बताए ।