अष्ट्रेलियामा पर्यटन मन्त्री भट्टराईको र्यालीलाई रोक, ‘बेला न कुबेला अष्ट्रेलिया’ भन्दै नेपालमा निन्दा

काठमाडौं । गत सेप्टेम्बरदेखि नै अस्ट्रेलियाका विभिन्न राज्यहरु डडेलोको प्रकोपमा छन् । डडेलोका कारण हालसम्म २४ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । हजारौं घर क्षतिग्रस्त भएका छन् । लाखौं हेक्टर भूमिमा फैलिएको जंगल डडेलोले नस्ट भइसकेको छ ।

डडेलोको प्रकोपले सिंगो सहरको तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुगेको छ । पर्यावरणीय दृष्टिले सहर आपतकालीन अवस्थामा छन् । करिब ५० करोड विभिन्न प्रजातिका जनाबर डडेलोमा जलेर नष्ट भएको तथ्य बाहिर आइरहेका बेला मंगलबार अष्ट्रेलियाको सिड्नीमा पर्यटनमन्त्री भट्टराईको नेतृत्वमा नेपालीले र्‍याली निकाले । अनुमति नलिई निकालिइएको र्‍यालीलाई स्थानीय सुरक्षाकर्मीले रोक लगाइदिएका छन् ।

अस्ट्रेलियाको साउथएसिया अनलाईनका अनुसार स्थानीय सुरक्षाकर्मीले र्‍याली रोकेको हो । र्‍यालीमा पर्यटनमन्त्री भट्टराई, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललगायत थिए ।

नेपालको पर्यटन भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि र्‍याली निकाल्न स्थानीय सुरक्षाकर्मी र प्रशासनसँग अनुमति लिन एनआरएन अस्ट्रेलियाका पूर्वकोषाध्यक्ष दिला खरेललाई जिम्मेवारी दिएको बताइएको छ ।

उनका अनुसार, स्थानीय प्रशासन र सुरक्षाकर्मीले अनुमति दिएको थिएन । देश डडेलोको समस्याले पिरोलिएका बेला पर्यटन भ्रमण वर्षका लागि र्याली निकाल्न अनुमति नदिएकोबारे आयोजकलाई जानकारी दिएको बताइएको छ ।

स्थानीय प्रशासनले अनुमति नदिएको जानकारी हुँदाहुँदै पनि र्‍याली निकालिइएको बताइएको छ । र्‍याली सुरू हुने वितिक्कै सुरक्षाकर्मीले रोकेको जनाइएको छ ।

देशनै शोकमा भएका बेला पर्यटनमन्त्री भट्टराई नेपाल भ्रमण वर्षको उद्घाटन गर्न अस्ट्रेलिया पुगेका हुन्। अस्ट्रेलियामा बस्दै आएका नेपालीले यस्तोवेला भ्रमण वर्षको प्रचारका लागि नआउन सामाजिक सञ्जालमा आग्रह पनि गरिरहेका थिए ।

तर समस्याको वास्तै नगरी काम कुरो एकातिर भने झैं पर्यटनमन्त्री स्ट्रेलिया पुगेका थिए । देश शोकमा भएका बेला मन्त्री भट्टराईले चालेको कदमले अमानवीयता र नादानीपन प्रदर्शन गरेको भन्दै नेपालमा आलोचना सुरु भएको छ ।