मुनीबहादुर शाक्यः जसले कम्युटरलाई नेपाली सिकाए

O अक्षरपाटी विशेष

उनको तिक्ष्णता, आँट र बुद्धि देखेर पाटन हाइस्कुलका हेडसर ललीतबहादुर श्रेष्ठले मुनी शाक्यलाई ‘बहादुर’ बनाइदिए । ‘परिवारमा सबैको नामसँग ‘राज’ जोडेर लेखिन्थ्यो,’ नेपालमा पहिलोपटक कम्प्युटर निर्माता मुनीबहादुर शाक्यले सम्झे, ‘मेरो नामसँग मात्रै ‘बहादुर’ लेखिन थाल्यो ।’

बुवा वुद्धराज शाक्य, तीन भाइहरुको नामका पछाडि पनि ‘राज’ नै थियो । मुनीबहादुर शाक्यले जहिले स्कुलमा बहादुरी कायम गर्थे । त्यही कारण हेडसरले उनको नामका पछाडि ‘बहादुर’ जोडिदिएका थिए । पठनपाठनमा मात्र होइन अतिरिक्त क्रियाकलापमा पनि उनी जहिले प्रथम हुने । ‘कक्षामा मात्र होइन, अन्य क्रियाकलापमा पनि म नै प्रथम हुन्थेँ’, नेपाली कम्प्युटरका जन्मदाता शाक्यले सम्झिए, ‘जहिले घर आउँदा पुरस्कारको भारी बोकेर आउँथे ।’

तीन वर्षसम्म नाम सच्याउन कोसिस गरे, शाक्यले । अहं ! सर्टिफिकेटदेखि प्रमाणपत्रमा मुनीबहादुर नै देखिन थालेपछि उनी त्यता लागेनन् । उनी नयाँ खोज, नयाँ विषयको अनुसन्धान र जिज्ञासातिर ढल्किए । ‘मेरो ब्रेनमा खै के थियो कुन्नी’, शाक्यले भने, ‘सात, आठ कक्षा पढ्दा नै मैले एचटुओ (H2O)मा हाइड्रोजन दुई, अक्सिजन एक हो भन्ने कुरा छुट्याउन खोजेँ ।’ उनले दुईवटा ट्युब ल्याएर त्यसलाई अलग अलग पारे । अक्सिजनको ट्युब आधा भरियो, हाइड्रोजन भरी भयो । उनले हाइड्रोजनको ट्युबमा आगो झोसे, त्यो मड्कीयो । ‘त्यती भएपछि म त दंग परेँ’, उनले आफ्नो अनुसन्धानको सुरुवाती दिन सम्झिए ।

आठ कक्षामै रेडियो
कक्षामा सँगै पढ्ने साथीहरुलाई उनी परीक्षाको पूर्व संध्यामा रातभर लेक्चर दिन्थे । कतिपयले ‘तिम्रै लेक्चरका कारण पास भएँ’ भन्थे । आठ कक्षा पढ्दाताका नेपालमा भरखर भरखर रेडियो सुरु भएको थियो । उनी ‘रेडियो के हो’ भन्ने खोज्न अमेरिकन, ब्रिटिस लाइबेरी छिरे । उनले रेडियो टिप्ने फ्रिक्वेन्सी बनाउने तरिका सिके । ‘एउटा काठको टुक्रामा तार बेरेर क्वाइल बनाएँ’, उनले भने, ‘क्वाइल बेर्दै गएपछि रेडियो नेपालको फ्रिक्वेन्सीसँग मिल्ने भयो, फोनको स्पिकर जोडेर हेरेँ, यो रेडियो नेपाल हो भन्यो । म त दंग परेँ ।’ त्यतिबेलै उनले विद्युतीय मोटर बनाए । दिनभर लाइबे्ररी रातभर एक्सपेरिमेन्ट गर्दा गर्दै कैयौँपटकको प्रयास पछि मोटर चल्यो । तीं सबै आविस्कारहरु उनले लगेर स्कुलमा प्रदर्शनी गर्थे । विद्यार्थी, सरहरु दंग पर्थे । त्यतिबेला उनलाई हेडसरले राखिदिएको ‘बहानुर’ नाम परिवर्तन नगरेकैमा निको लाग्थ्यो ।

साइन्स र तबलाको ताल
एसएलसी पास गरेपछि उनी आईएससी पढ्न त्रिचन्द्र कलेजमा भर्ना भए । फिजिक्सका प्राध्यापक जगदिशमान प्रधान तबलाका सौखिन थिए । शाक्यले घरमै तबला बादन गर्न जानेका । उनले कलेजमा तबला बादन गरेको देखेर जगदिशमान सर दंग परे । उनको ताल नै बेल्लै थियो । ‘त्यसबेला म रेडियो सिलोन, विविध भारती सुन्थेँ’, उनले भने, ‘त्यसमा बज्ने तबलाको ताल नै बेग्लै हुन्थ्यो, मैले त्यो सिकेको थिएँ ।’
कलेजमा तबला बजाएपछि उनको तालको प्रसंसा मात्रै भएन प्रचार भयो । एक दिन उनले जन्मथलो पाटनको मंगलबजारमा सार्वजनिक कार्यक्रम भयो । उस्तादहरुले गीत गाए, उनले तबला बादन गरे । ‘ओहो ! तालिको त ओइरो लाग्यो, मान्छेहरु जुरुक्क उठे’, उनले तबलाबादक बन्दाको दिन स्मरण गरे ।

इन्जिनियरिङ पढ्न कलकत्ता
सानैदेखि विज्ञान र आविस्कारमा रुची भएका शाक्यलाई रेडियो इलेक्ट्रोनिक्स पढ्ने हुटहुटी थियो । त्यसबेला नेपालमा यो सम्भव दिएन । त्यसबेला नेपालमा भरखर एउटा मात्रै ‘झन्डै घरजत्रो’ आईबीएम १४०१ मोडेलको कम्प्युटर भित्रिएको थियो । जसबाट सन १९६२ को एसएलसी परीक्षाको रिजल्ट गरिएको थियो ।

मुनी रेडियो इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्न सन १९५९ मा भारतको पश्चिम बंगालमा पर्ने कलकत्ता गए । पारीवारिक अवस्था कमजोर थिएन् । बुवा व्यापारमा, आमा नानीमाया शिक्षिका थिइन् । निकै स्वाभिमानी र स्वाबलम्बी स्वभावकी आमाले शाक्यलाई पनि स्वाबलम्बी हुनुपर्छ भन्ने ज्ञान सिकाएकी थिइन् । ‘आमाको सन्दुकभरी रामायण, गीता, बेद, शुक्रराज शास्त्री, धर्मभक्त माथेमाका किताब हुन्थे’, शाक्य सम्झन्छन्, ‘आमा ज्ञानगुनमा मात्र होइन स्वतन्त्रतामा पनि सायद विश्वास गर्नुहुन्थ्यो । हामीलाई किताबबारे कसैलाई नभन्नु भन्नुहुन्थ्यो ।’ उनले आमाबाट सिकेको मिहिनेतको खानु, झुट नबोल्नु, पाप नगर्नु, लोभ नगर्नु र इश्र्या नगर्नुजस्ता पञ्चशीलको सिद्धान्त सिकेका थिए ।

कलकत्तामा पढ्नका लागि उनी घरपट्टी निर्भर हुन चाहेनन् । अब गर्ने के त ? उनलाई त्यसबेला कलकत्तामा बस्न र पढ्न महिनाको एक सय ५० भए पुग्थ्यो । उनले काम खोजे । ‘काम पाउन एक वर्ष लाग्यो, एउटा इलेक्ट्रीक कम्पनीमा चार जना मान्छे चाहिएको थाहा पाएँ’, उनले भने, ‘आवेदन दिनेहरु चार सय जना थिए ।’ आवेदन दिने क्रममा खै कसरी उनको भेट कम्पनीको म्यानेजिङ डाइरेक्टरसँग भयो । तैपनि उनी होपलेसजस्तै भए । ‘बिरानो देशमा यत्रो भीडमा म कसरी छानिउँला र भन्ने भयो,’ उनले जीवनमा जागिर खाँदाको पहिलो अनुभूति सुनाए, ‘पछि मेरो नाम त एक नम्बरमै निस्कियो ।’ म्यानेजिङ डाइरेक्टरलाई उनको अंग्रेजी र सकारात्मक उर्जाले आकर्षित गरेको थाहा पाए । त्यतिबेला पनि उनले आफ्नो नामको पछाडि हेडसरले ‘बहादुर’ जोडिदिएकोमा रमाइलै माने ।

कम्पनीमा उनी सुपरभाइजर भए । महिनामा तीन सय तलब पाइने भयो । त्यो पनि बढ्दै गयो । ‘मलाई त एक सय ५० भए पुग्थ्यो’, शाक्यले भने, ‘मलाई त तलबभन्दा पनि अफिसमा दुई घन्टा मात्रै काम हुने, बाँकी ६ घन्टा पढ्न पाइने कुराले पो झन गजब भयो ।’
१९६० मा सुरु गरेको रेडियो इलेक्ट्रीक्स इन्जिनियरिङ उनले १९६५ मा पुरा गरे ।

रेडियो इलेक्ट्रीक्स इन्जिनियरिङ गरेपछि उनी केही समय कलकत्तामै बसे । त्यही क्रममा उनलाई इङल्याण्डबाट अफर आयो । जाने कसरी ? उनी कलकत्ताको बन्दरगाह खिद्रपुरमा गएर उभिए । त्यहाँबाट संसारभरका पानीजहाज ओहोरदोहोर गर्थे । उनले जहाजमै जान सकिन्छ कि भन्ने उपाए खोजे । तर भएन ।

सन १९६८ शाक्य नेपाल फर्किए । त्यसबेला ब्रिटिस सरकारले नेपालको सर्टवेब र मिडियम वेबलाई सहयोग गरेको थियो । त्यहँ ब्रिटिस इन्जिनियरले काम गरिरहेका थिए । सय किलोवाटको सटवेब र १० किलोवाटको मिडियम वेबको ट्रान्समिटर बनाउनुपर्ने काम थियो । शाक्यको अंग्रेजी राम्रो । त्यसमाथि रेडियो इलेक्ट्रीक्स इन्जिनियरिङ पढेर आएका । उनले ब्रिटिस इन्जिनियरलाई सघाए । सन १९६९ मा रानी रत्नराज्यलक्ष्मी र राजकुमार ज्ञानेन्द्र आएर सटवेब र मिडियम वेबको उद्घाटन गरियो । शाक्यलाई पहिलो रोमै राखियो ।

शाक्यको तिक्ष्णता र क्षमता देखेर उनलाई ब्रिटिस काउन्सिलको चार्टर इन्जिनियरिङ पढ्न ब्रिटिस इन्जिनियरको सिफारिसमा इङल्याण्ड पठाइयो । यो कोर्ष गर्न दुई लाख पाउण्ड लाग्थ्यो । ‘आफ्नो लगानीले त्यो कहाँ सम्भव थियो’, शाक्ले भने । सन १९७० मा उनी चार्टर इन्जिनियरिङ गर्न इङल्याण्ड पुगे । त्यहाँ उनले ४ सय किलोवाटका ट्रान्समिटर निर्माण र टेस्ट गर्नमा आफूलाई तल्लीन बनाए । पढाइका क्रममा उनी ट्युबलाईट बोकेर ट्रान्समिटर टेस्ट गर्न जान्थे ।

‘कतिसम्म हुन्थ्यो भने त्यहाँको रेडिएसनले गर्दा हातमा बोकेको ट्युबलाईट झल्ल बल्थ्यो’, शाक्यले जोखिमयुक्त नयाँ प्रविधिबारेको अनुभव स्मरण गरे । चार्टर इन्जिनियरिङको पढाइ सकिएपछि उनलाई उतै बस्न लोभलाग्दा अफर आए । आयरल्याण्डमा जडान हुने ट्रान्समिटरको प्रोजेक्टमा काम गर्न स्वप्नित प्रस्ताब गरियो । उनले ‘नो’ भनिदिए ।

‘मैले लिएको ज्ञान निकै महंगो थियो, यस्तै ज्ञान भएकाहरुले यहाँ यति धेरै प्रगति गरिसके’, शाक्यले ‘नो’ भन्नुको कारण प्रस्ट्याए, ‘मेरो देशमा प्रविधिको प्रयोग नै सुरु भएको थिएन, कसै न कसैले गर्नुपर्छ भन्ने मेरो मनमा थियो । म पनि यतै भासियो भने सुरु कसले, कहिले गर्ला ? समयले सुरुवात गर्ने जिम्मा मलाई नै पो दिएको हो कि भनेर म नेपाल फर्र्किएँ ।’

नेपाल फर्किएपछि उनले रेडियो नेपालमा धेरै नमिलेका चिज मिलाए । ट्रान्समिटर, एन्टेना, वेबहरु मिलाए । चट्याङले आधै ध्वस्त बनाएपछि त्यसलाई पनि शाक्ले ठिकठाक पारे । सन १९७४ देखि उनी राष्ट्रिय समाचार समितिमा आवद्ध भए । एपी, एफएपी, सिन्ह्वा, टेलिग्राफलगायतका एजेन्सीबाट प्राप्त हुने समाचार, फोटो, भिडियो, अडियो रिसिभ गर्न राससमा रिसिभर, एन्टेना राखिएको थियो । उनी त्यसको टेक्निकल चिफ भएर जिम्मेवारी सम्हाले ।

नेपालमै कम्प्युटर
सन १९७६ मा फ्रान्स सरकारको स्कलरसीप पाएपछि उनी फेरि फ्रान्स गए । त्यहाँ उनले डिजिटल इलेक्ट्रोनिक्स अध्यन गरे । त्यस क्रममा उनले कम्युटर बनाउने टेक्नोलोजीसम्म सिक्न पाए । उक्त अध्यन गरेर उनी नेपाल फर्केपछि सन १९७८–७९ को बीचमा दिन रात सुतेनन् । ‘निन्दै्र नलाग्ने, संसार कति अगाडि पुगिसक्यो हामी कहाँ छौँ भन्ने भयो’, शाक्ले दिनरात नसुतेर के गरे होलान् ? उनले भने, ‘नेपालको पहिलो माइक्रो कम्प्युटर बनाएँ ।’ प्लाइबोर्ड र शीसाको फ्रेममा विभिन्न यन्त्र, चिप्स जडेर निर्माण गरिएको पहिलो नेपाली माइक्रो कम्प्युटर अहिले पनि शाक्यको संग्रहालयमा सुरक्षित छ ।

देशमा किनेर ल्याएका त्यो पनि बडेमानका एकदुईवटा मात्र कम्प्युरट भएको बेला माइक्रो कम्प्युटर नेपालमै बन्नु, त्यो पनि नेपालीले बनाउनु भनेको एकखालको आश्चर्य थियो । त्यही आश्चर्यको खबर रेडियो नेपालले प्रसारण गर्यो । शाक्यको अन्तरवार्ता लियो ।

रेडियोमा लिइएको अन्तरवार्ता तत्कालीन प्लानिङ कमिसनका उपाध्यक्ष रत्नशम्शेर राणाले सुनेछन् । ‘उनले बोलाएर यो के हो, कस्तो हो ? यो त सबैलाई देखाउनुपर्छ भने’, राणाले आफूलाई बोलाउँदाको क्षण सम्झँदै शाक्यले भने, ‘त्यसबेला सिंह दरबारमा कम्प्युटर केन्द्र खुलेको थियो । त्यसका डाइरेक्टर देवीप्रसाद चापागाईँ हुनुहुन्थ्यो । उहाँले नै त्रिभुवन युनिभर्सिटीको डिन, प्रोफेसर, विद्वानहरुलाई बोलाएर थापाथलीमा मेरो माइक्रो कम्प्युटरको प्रदर्शनी गराउनुभयो ।’ त्यहाँ उनले कम्प्युटर र त्यसमा टिभीको मनिटर जोडेर रेन्डम नम्बर देखाए ।

त्यसपछि शाक्य नेपाली कम्प्युटर निर्माणका पिताका रुपमा चिनिन थाले । उनको प्रख्याती बढ्दै गएपछि चाइनाबाट दुई जना मान्छे आए । ‘उनीहरुले सबै कुरा हेरे, बुझेर गए’, शाक्यले भने, ‘त्यसको केही दिनपछि चाइनाको समाचार एजेन्सी सिन्ह्वामा मरो समाचार आयो, त्यो ८८ देशमा समाचारमाध्यममा एकैपटक प्रकाशित भयो ।’ त्यो समाचारले मुनीबहादुर शाक्य मात्र होइन नेपालमै कम्प्युटर बनेको कुराले देशकै नाम संसारभर फैलियो । कम्प्युटर फिल्डमा विश्वभर देश र शाक्यको नाम फैलियो ।

त्यसबेला कोठाभरीको ‘मेन फ्रेम’ कम्प्युटर भाडामा ल्याएर चलाउने समय थियो । सरकारले मात्रै त्यो काम गथ्र्यो । नेपालमै नेपालीले बनाएको टेबल माथि सानो ठाउँमा अट्ने कम्प्युटर बनेपछि उनको खोजी नहुने कुरै भएन । भारतका विभिन्न कम्पनीले लोभलाग्दो प्रस्ताव लिएर आए । ‘नेपालमा बसेर के गर्छौ, यहाँ बसे तिम्रो जिन्दगी कायाँपलट हुन्छ भन्नेमा भारत, फ्रान्स, इङल्याण्ड, अमेरिकासम्म थिए’, शाक्यले भने, ‘मैले पढ्ने र सिक्ने क्रममा पैसालाई महत्व दिएन, स्कलरसीप दिने देशहरुले नै सुनकै अण्डा देखाए तर मैले ज्ञान लिने कोसिस मात्रै गरेँ ।’

त्यसैले सिकाएँ कम्प्युटरलाई नेपाली
कम्प्युटर त बन्यो । तर तत्कालीन अवस्थामा एक करोड नेपालीलाई यो सिकाउने कसरी ? यही प्रश्नले मुनीबहादुर शाक्यको निन्द्रा खोस्यो । त्यहीबेला अमेरिकन नागरिक जोनाथन लिन्डेल खोज्दै खोज्दै शाक्यको घरमै आइपुगे । ती व्यक्ति ७५ पटक मन्त्रालय धाएर गोर्खाको लुइटेलमा डा बाबुराम भट्टराई, डा उपेन्द्र देवकोटा पढेको जनज्योती स्कुल स्थापना गर्ने मानिस थिए । उनले शाक्यका बारेमा समाचार पढेको कुरा गरे ।

‘अब के गर्ने इच्छा, योजना छ ?’ भनेर सोधे, शाक्यले सम्झिए, ‘मैले अमेरिका कम्प्युटरको फादर एन्ड मदर ल्याण्ड हो, त्यहाँ जानपाए, धेरै कुरा सिक्न सकिन्थ्यो भने ।’ उनी केही गर्न सकियो भने म चिठी पठाउँला भनेर गए । नभन्दै उनले एक महिनामै अमेरिकामा एक जना प्रोफेसर भेटेको छु भनेर पत्र पठाउनु भयो । म उहाँकै कारण सन १९८० मा अमेरिका गएँ ।

अमेरिका पुगेको एक वर्षपछि उनले माइक्रो कम्प्युटरको अध्ययनका क्रममा एउटा यस्तो कम्पनी फेला पारे, जहाँ रिसर्च एन्ड डेभलपमेन्टको काममा दिनरात बिताउन पाए । रात रातभर नसुतेर शाक्य त्यसैमा लागे । कम्प्युटर इन्टरफेसिङको काम सिके । हार्डडिक्स र कम्प्युटरलाई जोड्न सिके ।

शाक्यलाई एक करोड नेपालीलाई आफ्नो ल्याकतले कम्प्युटर सिकाउन सकिँदैन भन्ने थाहा थियो । त्यसैले उनी कम्प्युटरलाई नेपाली सिकाउन चाहन्थे । अर्थात उनले ‘देवनागरिक’ लिपी बनाउने सपना बुनेका थिए । जुन काम चाइना, भारत, पाकिस्तान कसैले सुरु गरेकै थिएन । शाक्य त्यो काम गर्न चाहन्थे । उनले कम्प्युटरको मदरबोर्डमा हुने एक सय पाँचवटा चिप्स आफ्नै हातले बनाउन जान्ने भए । उनलाई अमेरिकै बस्ने सुनौला अफर आए । ‘होइन, म देशमै फर्कनुपर्छ भन्ने लाग्यो’, शाक्यले सम्झिए, ‘म त्यहाँ लिंकन गाडी चढ्थेँ, कम्पनीका म्यानेजर साथीजस्तै थिए, मैले सबै वैभव पाएको थिएँ, तर पैसाले आकर्षित गरेन ।’ उनी सन १९८३ को जुलाईमा नेपाल आए । नेपालमा कसैले केही गरेकै छैन, कसैले त केही गर्नुपर्छ भन्ने मन बनाएर आएका उनले अब कसरी नेपाली अक्षर बनाउने भन्नेमा आफूलाई चुर्लुम्म डुबाए ।

ए, बी, सी, डीजस्तै कसरी क, ख, ग,घ बनाउने भन्नेमा उनी लागे । कोड पठाउँदै, कम्प्युटरलाई चिनाउँदै उनले नेपाली फन्ट तयार गरे । ‘म, न, त, गजस्ता अक्षर त सजिलै लाग्यो’, शाक्यले भने, ‘जब क्ष, ह, ज्ञ, झ जस्ता अक्षर बनाएँ, तब त पसिनै आयो । यो १० देखि पाँचको जागिरले बन्ने काम होइन रहेछ भन्ने भयो ।’

रत्न शम्शेर राणाले नेपाली अक्षरको पनि प्रदर्शनी गर्नुपर्छ भनेपछि उनले त्इसलाई त्रिचन्द्र कजेजको छेउमा रहेको सरस्वती सदनमा आयोजित विज्ञान प्रदर्शनीमा सात दिनसम्म प्रदर्शन गरे । आफैले बनाएको माइक्रो कम्प्युटरको स्क्रिनमा उनले लेखेका थिए तत्कालीन राष्ट्रिय गान ः

श्रीमान गम्भिर नेपाली…।

शाक्लेले जन्माएका माइक्रो कम्प्युटर त्यतिबेलै कृषि विकास बैंक, अर्थ मन्त्रालयहरुले प्रयोग गरे । बैंकको स्टेटमेन्ट नेपालीमै निस्कन थाल्यो । साहित्यकार बैरागी काइँला आएर गुरुङ लिपी बनाइ मागे । आफ्नै नेवारी भषाको नेपाल लिपी बनाए । उनले भएको जायजेथा जुटाएर अब कम्प्युटर बनाउने मेसिन नै नेपाल भित्र्याए । २४ जनाले एकैपटक काम गर्न मिल्ने गरी भित्र्याएको उक्त मेसिन ल्याउँदा त्यसबेला बिरगन्ज भन्सारले ‘ठूलो अपमान’ गरेको उनी विर्सँदैनन् । ‘रक्सी, बिँडी, चुरोट बनाउने मेसिनलाई उत्पादनशील भनेर एक प्रतिशत भन्सार थियो’, उनले सम्झे, ‘मैले कम्प्युटर बनाउने मेसिन ल्याउँदा मलाई २० प्रतिशत भन्सार मागियो, जफत गरिदिन्छु भन्दै बार्गेनिङ गरियो ।’

आजभन्दा ५० वर्ष अघि नेपालमै कम्प्युटर निर्माण भए पनि राज्यले भने मृगको नाभीको कस्तुरी नचिने झैँ भएको छ । आज वर्षेनी अर्बौँ मुल्यको कम्प्युटर, ल्यापटप आयात हुन्छ । तर राज्यले कम्तीमा स्वदेशी कम्प्युटरलाई सरकारी निकायमा अनिवार्य गरेर मुलुकको उत्पादनलाई प्रोत्साहन गर्न नसकेकोमा भने शाक्य दुःखी छन् । तर उनी चुप लागेर बसेनन्, अहिलेसम्म आइरहने विदशी प्रस्ताव अस्वीकार गर्दै उनी कलिकास्थानको निजी घरमै बसेर मिनी, माइक्रो र ग्रीन कम्प्युटर बनाइरहेका छन् । भन्छन्, ‘विदेशबाट आउने कम्प्युटरमा ३० प्रतिशत मजदुरको ज्याला जोडिन्छ, म त्योभन्दा पावरफुल कम्प्युटर ४० प्रतिशत सस्तोमा सप्लाइ गर्नसक्छु ।’ शाक्यको तपस्या, उनको देश निर्माणमा समर्पित भावना सुनोस् कस्ले ? सायद शाक्यको मनमा कतै लाग्दो हो– हेडसर ललीतबहादुर श्रेष्ठ ‘सरकार’ हुँदा हुन् त पक्कै मेरो कर्मको पनि आज सम्मान हुन्थ्यो होला !

(युवामञ्चबाट शिवराज योगीको आलेख)