नेपालमा   ब्राण्ड स्टोरीको सुरूवात  

काठमाडौं । अमेरिकी मिडिया कम्पनी BL Media Inc.को नेपाली संस्करण breaknlinks.com/nepali ले ब्राण्डिङको क्षेत्रमा एउटा नयाँ शो सञ्चालन गरेको छ ।

‘ब्राण्ड स्टोरी’ नाम दिइएको यस शोमा कुनै पनि नेपाली ब्राण्डहरूको समग्र जीवन कथा भनिने छ ।ब्राण्ड कम्पनी पनि हुन सक्छ वा कुनै कम्पनीको उत्पादन वा सेवा मात्र पनि हुन सक्छ।

‘यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन् । ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के कस्ता उतारचढावहरू आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ’, शोको परिकल्पनाकार मुना श्रेष्ठले भनिन्।

लामो समय विज्ञापन क्षेत्रमा बिताएकी श्रेष्ठले नेपाली उत्पादनलाई विश्वबजारमा पुर्‍याउन र आफ्नो ब्राण्डको बारेमा सबैलाई जानकारी गराउन यो सो अत्यान्त आवश्यक रहेको बताइन् ।

‘नेपालकै ब्राण्डिङ त नभएको अवस्थामा यसका कम्पनी र उत्पादनहरूको खासै ब्राण्डिङ नहुनु स्वभाविकै हो । तर, अब नेपाली ब्याण्डको पनि ब्राण्डिङ हुन आवश्यक छ’, उनले भनिन्।

यस शोलाई एक फरक खाले शो बनाउन लागि परेकी श्रेष्ठ भन्छिन्, ‘नेपाल आफैंमा एक ठूलो ब्राण्ड हो । यसका अनकौ फिचर छन्। तर,  हामीले यसलाई विश्वसामू राम्ररी ब्राण्डिङ गर्न सकेका छैनौं । यदि हामीले गर्न सकेको भए वर्षमा २० लाख पर्यटक भित्र्याउन नेपाल भ्रमण वर्षको अभियान सञ्चालन गर्नुनै पर्नेथिएन ।’

नेपालमै पहिलो पटक ब्याण्ड स्टोरी सो को सुरूवात ब्रेकएनलिङ्सले गर्न लागेकोमा यसको अवधारणा सुनेरै नेपाली एड गुरू अभय पाण्डे खुशी छन्।

‘मानिसको कथाजस्तै हरेक ब्राण्डको पनि आफ्नो कथा हुन्छ। त्यही कथा भन्ने रहेछ द ब्राण्ड स्टोरीले,’ पाण्डेले यो अवधारणाले नयाँ सिर्जना गरेको भन्दै अगाडि भने,’म यो शो को प्रतिक्षा गर्नेछु, मलाई लाग्छ यो एउटा सफल र सिर्जनात्मक शो हुनेछ। र दोहोर्‍याएर भन्छु, यो सो नेपालमा पहिलो सो हो।’

नेपालमा राष्ट्रिय स्तरका मात्र हैन, अन्तर्राष्ट्रिय स्तरका पनि थुप्रै ब्राण्ड भएको बताउँदै उनलेअगाडि भने, ‘वाइवाइ, एनसेल, एनटीसी, सीजी, पञ्चकन्या नेपालका स्थापित ब्राण्ड हुन् । यिनीहरूको ब्राण्ड भेल्यू पनि ठूलै छ ।’

उनले अब नेपाली उद्यमीले पनि ब्राण्डमा लगानी गर्ने बेला भइसकेको बताए ।

मार्केटिङको संसारमा एउटा बहुचर्चित भनाइ छ, ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।’ नेपाली उद्यमी व्यवसायीहरूसँग पनि उम्दा ब्राण्ड त छ, तर त्यसको बारेमा बोलिएको छैन । त्यो बोल्ने प्लेटफर्म मिलेकाले नेपाली उद्यमी व्यवसायीले यसको उपयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।

कार्यक्रममा नेपाल सरकारका सूचना, प्रविधि तथा संचार मन्त्री गोकूलप्रसाद बाँस्कोटाले बिएल मिडिया आफैमा एउटा ‘ब्रान्ड’ भएको बताएका छन् ।

बुधबार राजधानी काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित  कार्यक्रममा बाँस्कोटाले भने, ‘अरु मिडियाले नेपाली र अंग्रेजीमा समाचार सम्प्रेषण गर्दै आइरहेका छन् । बिएल मिडियाले ६ वटा (अन्तर्राष्ट्रिय) भाषामा समाचार संम्प्रेषण गर्न लागेको छ । यो आफैंमा एउटा ब्रान्ड भइहाल्यो नि ।’

बिएल नेपाली सेवाले बुधबारदेखि ‘ब्रान्ड स्टोरी’ नामक शोको शुभारम्भ गरेको छ । नेपालका स्थापित ‘ब्रान्ड’ लाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रमको मन्त्री बाँस्कोटाले औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरे ।

कार्यक्रममा सञ्चार, विज्ञापन र शैक्षिक क्षेत्रका हस्तीहरूको उपस्थिति थियो । मन्त्री बाँस्कोटाले आफू पनि एउटा ‘ब्रान्ड’ भएको भन्दै सोसाइटी निर्मित चिन्तनले फरक पर्ने बताए ।

‘मलाई धेरैले गाली गनुहुन्छ, त्यो मलाई थाहा छ । तर गाली गरेपनि म आफ्नो कुरा छोडदै छोडदिन्,’ मन्त्री बाँस्कोटाले भने, ‘मान्छे जुन फिल्डबाट आउँछ, त्यसले नै ब्रान्ड बन्छ ।’

‘ब्रान्डिङ’ आफैमा एउटा नौलो सृष्टी भएको हुनाले यो प्राकृतिक कुरासँग पनि जोडिने उनले बताए।  उनले खाली बजारसँग जोडिने कुराको मात्र नभई प्रकृतिसँग जोडिएको कुराको पनि ब्रान्डिङ गर्न आग्रह गरे । ‘सगरमाथा हामीलाई प्रकृतिले दिएको सबैभन्दा ठूलो ब्रान्ड हो,’ उनले भने ।

उनले बिएल मिडियाले विभिन्न भाषामा समाचार सम्प्रेषण गरेर नेपाललाई अन्तर्राष्ट्रिय समूदायसँग जोड्न खोजेकोमा अग्रिम शुभकामना दिए ।